२५ खर्ब लगानी गर्न ४३ कम्पनीको आवेदन

२५ खर्ब लगानी गर्न ४३ कम्पनीको आवेदन

वैशाख ८,काठमाडौँ -गत चैत्र १५ र १६ गते भएको लगानी सम्मेलनमा प्रस्तुत ३१ आयोजनामा २५ खर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव परेको छ । सम्मेलन सकिएको २२ दिनपछि लगानी बोर्डले आइतबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । लगानीको प्रस्ताव पेस गर्ने समय अझै एक महिना बाँकी छ, पत्रकार सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सिइओ महाप्रसाद अधिकारीले भने, लगानी अझै थप हुन सक्छ ।

पत्रकार सम्मेलनमा जनाइए अनुसार सरकारी र निजी क्षेत्रका ७७ आयोजनामा लगानी गर्नका लागि आव्हान गरिएको थियो । यसमध्ये २६ वटा आयोजनामा लगानीको प्रस्ताव पेस भएको हो ।प्रस्ताव नै आव्हान नगरिएका ५ वटा थप परियोजनामा समेत आवेदन प्राप्त भएको छ, पत्रकार सम्मेलनमा बोर्डका प्रवक्ता बलाराम रिजालले भने,आवेदन प्राप्त परियोजनाको कूल अनुमानित लागत २५ खर्ब रुपैयाँभन्दा बढी छ।यो प्रस्ताव पेस गर्नेमा ४३ वटा कम्पनीहरु रहेका छन् । प्रस्तावित लगानीको रकम विदेशी वा स्वदेशी भन्ने बोर्डले छुट्याएको छैन । कम्पनीहरुको नामसमेत सार्वजनिक गरेको छैन ।
सम्मेलनमा सरकारका तर्फबाट ५० र २७ वटा निजी क्षेत्रका आयोजनाहरु प्रस्तुत गरिएको थियो । लगानी सम्मेलन सकिएको दिनसम्म सरकारले प्रस्तुत गरे र निजी क्षेत्र आफै घोषणा गरेको आयोजनामा करिब १७ खर्ब ३२ अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव परेको थियो । सरकारले प्रस्तुत गरेका ५० आयोजनामध्ये ११ वटामा मात्रै लगानी गर्न १७ प्रस्ताव पेस भएका थिए ।

निजी क्षेत्र, सरकार र दातृ निकायबीच १७ आयोजनामा लगानी गर्ने समझदारी भएको छ । यो समझदारीका आयोजनाहरुको लागत भने ५ खर्ब १३ अर्ब रुपैयाँ हुन आउँछ । हाल बोर्डले सार्वजनिक गरेको तथ्यांकमा ५ खर्ब १३ अर्ब रुपैयाँ समावेश छैन । सरकारले प्रस्तुत गरेका आयोजनालाई वैशाख ७ गते शनिबारसम्म लगानीको प्रस्ताव पेस गर्न पाइने समय दिएको थियो ।

प्रतिक्रिया