रारा कर्णाली पर्यटन वर्ष : दैलेखमा ३८ हजार पर्यटक

रारा कर्णाली पर्यटन वर्ष : दैलेखमा ३८ हजार पर्यटक

दैलेख वैशाख ९ गते । कर्णाली प्रदेश सरकारले गत वर्षको वैशाख १ गते आह्वान गरेको रारा कर्णाली पर्यटन वर्षका कारण ११ प्रतिशत पर्यटक बढेका छन् । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी अघिल्लो वर्षको तुलनामा पर्यटन वर्षमा ११ प्रतिशत पर्यटक आगमन वृद्धि भएको जानकारी दिएको छ । पाँच लाख पर्यटक भित्¥याउने लक्ष्यका साथ आयोजना गरिएको रारा कर्णाली पर्यटन वर्षको एक वर्ष अवधिमा चार लाख ५४ हजार ८६४ आन्तरिक पर्यटक र २१ हजार २९१ बाह्य गरी कुल चार लाख ७६ हजार १५५ पर्यटक आएको मन्त्रालयले दाबी गरेको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले अघिल्ला वर्षको तुलनामा रारा कर्णाली पर्यटन वर्षमा पर्यटन आगमनमा ११ प्रतिशतले वृद्धि भएको बताउनुभयो । यस्तै बाह्य पर्यटक वृद्धिदर भने ३४ प्रतिशत रहेको उहाँको भनाइ छ । आन्तरिक पर्यटक आउने कर्णालीका १० जिल्लामध्ये सबैभन्दा धेरै सुर्खेत जिल्लामा रहेको छ । जसमा एक लाख ६२ हजार ८६१ रहेको छ । त्यसपछि जुम्लामा ७७ हजार ६१४, जाजरकोटमा ५८ हजार ८६५, दैलेखमा ३८ हजार ६६८, सल्यानमा ३६ हजार १५०, कालीकोटमा ३१ हजार ३५७, हुम्लामा २० हजार ५४५, मगुमा १३ हजार ७९५ र रुकुम पश्चिममा छ हजार ६५८ आन्तरिक पर्यटक भित्रिएको मन्त्रालयले जनाएको छ ।
यसैगरी बाह्य पर्यटक आउनेमा सबैभन्दा धेरै हुम्लामा रहेको छ । जहाँ १७ हजार ४८९ रहेका छन् । त्यसपछि डोल्पामा दुई हजार ६८८, सुर्खेतमा ६५४, मुगुमा ३३४, जुम्लामा ६२ र कालीकोटमा २१ जना रहेका छन् । पर्यटन नै कर्णालीको आम्दानीको मुख्य स्रोत भएकाले पर्यटन आगमन बढाउने लक्ष्यका साथ २०७५ लाई प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्षको रूपमा मनाएको मन्त्री बुढाले बताउनुभयो । आन्तरिक र बाह्य पर्यटक आउने क्रम बढेपछि प्रदेश सरकार पनि उत्साही भएको भन्दै मन्त्री बुढाले अब पर्यटकीय गतिविधिलाई आगामी वर्षमा पनि थप बढवा दिने उल्लेख गर्नुभयो ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गरिने, प्रत्येक जिल्लामा होमस्टे सञ्चालन गरिने, प्रदेशका १०१ पर्यटकीय क्षेत्रहरूको पहिचान गरी सार्वजनिक गरिने लक्ष्य रहेको मन्त्रालयका सचिव धीरेन्द्र प्रधानले बताउनुभयो । यसैबीच मन्त्रालयले रारा कर्णाली पर्यटन वर्षको उद्घाटन खर्चमा कुनै अनियमितता नभएको दाबी गरेको छ । मन्त्रालयले महालेखा परीक्षकको कार्यालयलले गरेको लेखा परीक्षणलाई आधार मानेर उद्घाटन खर्चमा ७८ लाख १६ हजार ९६ रुपियाँ खर्च भएको जनाएको छ । मन्त्रालयका सचिव प्रधानले काम गर्ने क्रममा अनुभवको कमीले केही कमजोरी भए पनि अनियमितता नभएको जनाउनुभयो । उहाँले त्यो खर्च नियमसङ्गत र पारदर्शी हिसाबमा भएको जिकिर पनि गर्नुभयो ।

प्रतिक्रिया