सामाजिक सुरक्षा भत्ता लिनै सास्ती

सामाजिक सुरक्षा  भत्ता लिनै सास्ती

बैंक मार्फत सामाजिक सुरक्षा भत्ता लिन दैलेख सदरमुकाम आएका वृद्धवृद्धा बैंक अगाडीको सडक पेटीमा पालो कुर्दै । तस्विर – हिक्मत बहादुर नेपाली,दैलेख

हिक्मत बहादुर नेपाली
दैलेख, ११ वैशाख –
दैलेख नारायण नगरपालिका–४ सोतकी ७० बर्षिया दुर्गा कठाएत सरकारले वृद्धवृद्धाको सम्मान गर्दै सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेकोमा खुसी भएपनि बैंक मार्फत वितरण भएकोमा बेखुसी छिन् । दुर्गम गाउँबाट बैंकसम्म आउँदा अनेक झमेला हुन थालेपनि उनि बेखुसी भएकी हुन् । आइतवार सरकारले दिने सामाजिक सुरक्षा भत्ता बैंक मार्फत लिन दैलेख सदरमुकामको एनएमवी बैंक आएकी कठाएतले भन्नुभयो ‘बिहानै बैंक आइपुगेको हुँ, बैंक बन्द हुन लागिसक्यो, अहिलेसम्म पालो आएकै छैन् ।’ ७० वर्षीया दुर्गा कठाएतले भनिन्, ‘हामी बूढाबूढीका लागि बैंकमा बस्ने ठाउँ समेत छैन्, लाइनमा उभिरहनका लागि खुट्टाले थाम्दैन्, खुट्टाले नथामेपछि हामी बैंक बाहिरको सडक पेटीमा अडेसालाई बसेका छौ ।’ उनि चालु आर्थीक बर्षका दोस्रो चौमासिक अवधीको सामाजिक सुरक्षा भत्ता बैंक आएकी हुन् ।
बैंक अगाडी सडक पेटीमा पालो कुरेर बसेकी कठाएत जस्तै ‘कतिबेला बंैक खुल्ला र चेक साटेर घर फर्कीउँला’ भन्ने पर्खाइमा बसेकी सोहि ठाउँकी ६८ बर्षिया मैनकला कठाएतको समस्या पनि उस्तै छ । ‘कम्तीमा पनि एक दिनभरि पर्खिएपछि मात्रै पालो आउँछ,’ उनि भन्छिन् ‘यसो हुँदा हामी वृद्धवृद्धाले निकै सास्ती खेप्नुपरेको छ ।’
घरायसी काम छोडेर छोराको बाल सुरक्षा भत्ता लिन बैंक आइपुगेकी मन कुमारी सुनारको विलौना पनि उस्तै छ । शुक्रवार पनि १० बजे भत्ता लिनकै लागि लाइनमा बसे पनि बेलुका रित्तो हात फर्कनु परेको उनको भनाई छ । उनले भत्ता लिनको लागि नयाँ नियम लागु गरेकोले धेरै सास्ती भोग्नुपरेको बताइन् । सरकारले वृद्धवृद्धा, एकल, महिला, अशक्त एवं अपाङ्गता, दलित बालबालिकाकाका लागि व्यवस्था गरेको सामाजिक सुरक्षा भत्ता लिन बैंकको झन्झटिलो प्रक्रिया भएको गुनासो विकको छ । ‘कहिले बैंकमा खाता खोल्नुपर्ने, कहिले नगरपालिकाको सिफारिस चाहिने, भत्तालिनै सास्ती छ’ उनले भनिन् ।
विरामी परेर थला परेकी श्रीमतीको भत्ता लिन बैंक आएका नारायण–३ का गणेश प्रसाद रेग्मीले भने ‘बैंक कर्मचारीले श्रीमतीको भत्ता तपाईलाई दिन मिल्दैन, सिफारिस ल्याउनुस् भनेपछि सिफारिस ल्याए तरपनि बैंक पस्ने कुपन पाउँन सकेको छैन् ।’ ‘बैंक मार्फत भत्ता बुझ्ने प्रकृया पनि झन्झटिलै हुँदो रहेछ, उनले भने ‘सुविधा दिने बाहानामा झन् वृद्धवृद्धालाई दुःख मात्र दिए ।’ उनिहरुजस्तै नारायण नगरपालिकाका विभिन्न स्थानका दान कुमारी खड्का, गगनसरा नेपाली लगाएतले विना झन्झट सहज रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन नगरपालिकासँग आग्रह गरेका छन् । उनिहरुले वडा कार्यालय मार्फत भत्ता उपलब्ध गराउन नगरसंग माग समेत गरेका छन् ।
वडा सचिवहरुले वडा–वडामा भत्ता वितरण गर्ने हो भने वृद्धवृद्धालाई सास्ती नहुने नारायण नगरपालिका–३ भुर्तीका गणेश प्रसाद रेग्मी बताउँछन् । भत्ता लिनकै लागि भोकभोकै दिन बिताउनुपर्ने भन्दै बिरामी, वृद्धवृद्धाहरुलाई थप सास्ती भोग्नुपरेको उनको भनाई छ । दैलेखको नारायण नगरपालिकाले नगरका वडा नंं १ देखि ९ सम्मको सामाजिक सुरक्षा भत्ता जिल्ला सदरमुकाम स्थित एनएमवी बैंक मार्फत उपलब्ध गराउँदै आएको छ । नगरका वडा नं. १० र ११ को भने वडा कार्यालयबाट प्रदान गरिरहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया