डिजेल, पेट्रोल अभावमै दशैं
ज्वाला सन्देश सम्वाददाता
दैलेख, कात्तिक ३ – यसपालीको दशैं भारतीय पक्षले लगाएको एकतर्फी नाकाबन्दी महिनौदिनसम्म खुकुलो नहुँदा दैलेखमा पेट्रोलियम पदार्थ आपूर्ति हुन सकेको छैन् । जिल्लामा आयल निगमको एकमात्र अधिकृत विक्रेताले यसअघि पेट्रोलको स्विकृति नलिएकाले निगमको क्षेत्रीय डिपोले पेट्रोल पठाउन समस्या भएको हो ।
डिजेल अभावका कारण देवकोटा चौकमा थन्काईएका ट्याक्टरहरु
लामो समयदेखि इन्धन अभाव झेल्दै आएका साना सवारी साधनले पेट्रोल नपाउँदा आवागमन प्रभावित हुन पुगेको छ । यसअघि सुर्खेतबाट अनधिकृत रुपमा ढुवानी गरेर सदरमुकामका विभिन्न पसलबाट इन्धन बिक्री हुँदै आएको थियो । प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले जिल्लामा तीन हजार लिटर डिजेल आपूर्ति भएको बताए । निगमको अधिकृत विक्रेता श्रेष्ठ आयल स्टोर्सबाट यात्रु तथा मालवाहक सवारीसाधनका लागि दश–दश लिटर डिजेल बिक्री वितरण भैरहेको बताए । निगमको अधिकृत विक्रेता श्रेष्ठ आयल स्टोर्सका प्रोपराईटर सरस्वती श्रेष्ठले ३ घण्टामै ३ हजार लिटर तेल लाईनबाटै वितरण भएको बताईन् ।
इन्धन अभावले सवारीसाधन कम चल्दा यात्रुहरु दसैंका लागि घर फर्कन पाएका छैनन् । मोटरसाइकलको सहायताले गन्तव्यमा पुग्नेहरु पेट्रोल नभएपछि निराश छन् । घर जाने तयारीमा रहेकाहरु पेट्रोलको पखाईमा बसेको हप्तौं बितिसकेको छ । अधिकांश सरकारी तथा निजी मोटरसाइकलहरु पेट्रोल अभावले त्यसै थन्किएका छन् । कतिपय मोटरसाइकल धनीहरु पेट्रोल लिन नेपालगञ्जसम्म पुग्ने गरेको पाइएको छ । प्रजिअ घिमिरेले नाकाबन्दी खुकुलो भएसंगै ५ सय लिटर पेट्रोल पठाउन अनुरोध गरेपनि नआएको बताए । उनले भने, łधेरै अनुरोध गरेको छु । तैपनि, पेट्रोल पठाइएको छैन् । डिजेलमात्र आएको छ । सुर्खेतस्थित निगमको डिपोमार्फत् यहाँ इन्धन आपूर्ति हुने गर्दछ ।
त्यस्तै जिल्लामा दाल, चामल, चिनी लगायतका अत्यावश्यकीय खाद्य सामाग्रीको अभाव नरहेको दैलेख उद्योग वाणिज्य संघले जनाएको छ । संघका महासचिव नरेन्द्र थापाले इन्धनबाहेक अन्य खाद्य सामाग्रीको अभाव नरहेको बताए । łबन्द खुलेपछि डिजेल आयो । अब विस्तारै दैनिकी सहज होला । पेट्रोलमात्र आएको छैन्, थापाले भने, पेट्रोलको अधिकृत डिलर नभएकाले आउन कठिनाइ भएको हो । खाना पकाउने एलपी ग्यासको अभावसमेत नभएको व्यवसायीले बताएका छन् । खाद्य संस्थानले सहुलियतमा बिक्री गर्ने चामलसमेत तीन महिनासम्मका लागि मौज्दात छ । डिजेल उपलब्ध भएपछि जिल्लाका व्यवसायीले दसैं तिहारका लागि विभिन्न सरसामानहरु ग्रामिण इलाकातर्फ ढुवानी गर्न थालेका छन् । नौमूले, चौराठा, बेस्तडा, खरिगैरा, वडाखोला, रानीवन, देशीगाडे, दुल्लू लगायतका स्थानमा सदरमुकामबाट सिधै सामान ढुवानी गरिन्छ । यी बाहेक जिल्लाका अन्य व्यापारिक स्थानमा सिधै सुर्खेतबाट यातायात सञ्चालन हुने गर्दछ ।
प्रतिक्रिया