एकजुट हुनुपर्नेमा जोड

एकजुट हुनुपर्नेमा जोड

दैलेख वैशाख १८ ।
नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्न बहादुर खड्काले श्रमिकहरु एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा बागबानी अनुसन्धान केन्द्र दैलेखमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नारायण नगर कमिटि दैलेखद्धारा आयोजित समारोहलाई सम्बोधन गर्नुहँदै नगरप्रमुख खड्काले हरेक श्रमिकको हक अधिकारलाई सुनिश्चित गर्नका लागि एकजुट हुनुपर्ने बताउनुभएको हो । ‘श्रमिकहरु एकजुट हुनुहोस्, स्थानीय तह, प्रदेश र संघीय सरकारलाई रचनात्मक सुझाव दिनुहास्,’ उहाँले भन्नुभयो । सरकारले श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी सामाजिक सुरक्षाका योजना आरम्भ गर्नुका साथै मुलुकभित्रै सम्मानपूर्वक काम पाउने अवस्थाको सिर्जना गर्न लागेको उहाँले बताउनुभयो ।

सोहि अबसरमा नेकपामा जिल्ला सचिव प्रेम बहादुर कटुवालले १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन पनि मजदुरको हक र अधिकार प्राप्तीको लडाईको एउटा रुप भएको धारणा राख्नुभयो । उहाँले श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि वर्तमान कम्युनिष्ट सरकारले विभिन्न कानूनी, नीतिगत एवं प्रक्रियागत सुधारको थालनी गरेको बताउनुभयो । कार्यक्रममा जनप्रतिनीधि, लगाएतले अन्तर्राष्ट्रिय श्रमिक दिवस बारे चर्चा गरेका थिए । कार्यक्रममा औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरले न्यूनतम तलब, सामाजिक सुरक्षा, वृत्ति विकास, श्रमको उचित सम्मान हुनुपर्ने माग गर्दै हरेक वर्ष धूमधामका साथ यो दिवस मनाए पनि श्रमिकका पक्षमा नेपालमा खासै कामम हुन नसकेको बागबानी अनुसन्धान केन्द्रमा कार्यरत मजदुरहरुले गुनासो गरेका छन् ।

प्रतिक्रिया