‘न न्यूनतम तलब, न त सामाजिक सुरक्षा कोषको प्रत्याभूति’

‘न न्यूनतम तलब, न त सामाजिक सुरक्षा कोषको प्रत्याभूति’

हिक्मत बहादुर नेपाली

दैलेख वैशाख १९ । सेतै फुलेका कपाल, हाडछाला मात्र देखिने चाउरिएका अनुहार, वर्षौदेखि ढुङ्गा माटोमा काम गर्दा गर्दै कालै भएका हातखुट्टा बस्यो उठ्न गाह्रो, उठ्यो बस्न गाह्रो, बोल्नै पनि धौ धौ तर पनि उनलाई दैनिक ज्यालादारीमा काम गर्न भने छुटेको छैन ।

उमेरले ६० काटेका दैलेख नारायण नगरपालिका–७ का खड्कबहादुर मल्लले बागबानी अनुसन्धान केन्द्र दैलेखमा मजदूरी गर्न लागेको तीन दशक बित्यो । ‘यही ठाउँमा यतिका वर्षसम्म मजदूरी गर्दा पनि न दैनिक गुजारा गर्न नै पुगेको छ, न त सोचे जस्तो घर ठड्याउँनै सकेको छु’, मलिन अनुहार बनाउँदै मल्लले भने ।

उनी जस्तै सोही स्थानका सूर्यबहादुर बुढाले बागबानी अनुसन्धान केन्द्रमा काम गर्न लागेको २५ वर्ष बित्यो । काम गर्न शुरु गर्दा खनजोत, कुटो कोदालो गर्दै आएका बुढाले अहिले ट्याक्टरबाट खेत जोत्ने, थ्रेसर मेसीन चलाउनेदेखि ट्याक्टर चलाएर एक ठाउँको सामग्री अर्को स्थानमा पु¥याउँदै आएका छन् ।

‘मैले काम गर्न शुरु गर्दा शुरुमा १४ रुपैयाँ तलब थियो, अहिले दैनिक ५५० रुपैयाँ छ,’ उनले भने । विगत पाँच वर्षदेखि यही ठाउँमा मजदूरी गर्दै आएका नारायण नगरपालिका–७ का कृष्णबहादुर सुवेदीले जसो तसो चार जनाको परिवार पालेका छन् ।

बिहानभरी घरकै काम गर्ने सुवेदी १० बज्ने बित्तिकै बागबानी अनुसन्धान केन्द्र दैलेखको परिसरमा आइपुग्छन् । उनले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खेतबारी जोतखन, कुटो कोदालोदेखि भारी बोक्नेसम्मका काम गर्दै आएका छन् । यतिका काम गर्दा पनि चार जनाको परिवार पाल्नै धौ धौ परेको उनले दुःखेसो पोखे ।

‘हामी मजदूरलाई न न्यूनतम तलब छ, न त सामाजिक सुरक्षा कोषको प्रत्याभूति नै छ’, उनले भने, ‘सरकारले हामी मजदूरका लागि भनेर न्यूनतम मासिक तलब १३ हजार ४५० र दैनिक ज्याला ५१७ तोकेको त सुनेका मात्रै छौं, तर हामीलाई भने ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ ।’

उनले मजदूरलाई सरकारले तोकेको न्यूनतम तलब उपलब्ध गराउन माग गरे । अन्नबाली स्याहार्ने खेतबारी खन्नेदेखि बीउबिजन उत्पादन गर्ने काम गर्दै आएकी नारायण नगरपालिका–७ की रत्नापुन मगरको पीडा पनि उस्तै छ । उनले भने, ‘शरीर थाकुञ्जेल काम गर्छौ, बिरामी हुँदाको बखत उपचार गर्ने रकमसम्म हुँदैन ।’

उनी जस्तै बागबानी अनुसन्धान केन्द्रमा काम गर्ने मजदूरको पीडा सही नसक्नुको छ । यही ठाउँमा १९ वर्षदेखि काम गर्दै आएका ५४ वर्षीया बलबहादुर मल्लले दुःख गरेर काम गरेपनि न्यूनतम तलबसमेत नपाएको गुनासो गरे । शुरुमा ६० तलबमा काम गएका मल्ले हाल दैनिक ३८० रुपैयाँ ज्याला पाउँछन् । ‘वैशाख अघिसम्म ३६० रुपैयाँ दैनिक ज्याला थियो’, उनले भने, ‘वैशाख यता २० रुपैयाँ बढेको छ ।’

केन्द्रमा अहिले ४० जना मजदूर काम गर्दै आएका छन् । उनीहरुले तोकिएको न्यूनतम ज्याला उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

केन्द्रका प्राविधिक अधिकृत ओमबहादुर ओलीका अनुसार बागबानी ९तरकारी फलफुल० तर्फ २० जना मजदूर कार्यरत छन् भने अन्नबालीतर्फ २० जना मजदूर कार्यरत छन् ।

यहाँ कार्यरत मजदूरले खनजोत, बीउ परीक्षण, बीउ उत्पादन लगायतका काम गर्दै आएको केन्द्रका प्राविधिक अधिकृत वलीले बताए । उनले यहाँ काम गर्दै आएका मजदूरले कामका आधारमा ३८० देखि ५५० रुपैयाँसम्म दैनिक तलब पाउने गरेको बताए ।

प्रतिक्रिया