सुत्केरीको उद्धार,तीन दिनमा चार जनाको ज्यान जोगियो

सुत्केरीको उद्धार,तीन दिनमा चार जनाको ज्यान जोगियो

बैशाख २२, सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा आइतवार एक सुत्केरीको उद्धार गरिएको छ ।कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं। ५ मेहलमुडिकी २२ वर्षीया स्वस्तिका बमको उद्धार गरिएको मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेम सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार बमलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेतमा रहेको प्रदेश अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो ।‘सुत्केरी व्यथा हिजो दिउँसोबाट लागेको थियो,’ उनका श्रीमान गोविन्द शाहीले भने, ‘पहिलो सन्तानको रूपमा श्रीमतीले बच्चा जन्माउन नसकेका कारण प्रदेश सरकारको सहारा लिएको हुँ ।’

कालिकोट सदरमुकामबाट १४ कोष टाढा रहेको मेहलमुडिबाट उद्धार गरिएकी बमका श्रीमानले प्रदेश सरकार भएको महसूस भएको बताए ।‘मैलाई त परिवारलाई जोगाउन सकिँदैन भन्ने लागिरहेको थियो,’ उनले भने, ‘तर मेरा लागि साक्षत ईश्वर प्रदेश सरकार बन्यो । अहिले मेरी श्रीमतीको ज्यान जोखिमबाट बाहिर आएको छ । सरकारलाई लाखौं लाख धन्यवाद ।’

कर्णालीका विकट क्षेत्रबाट प्रदेश सरकारले सुत्केरीको ज्यान बचाउन हेलिकप्टर चार्टर गर्दै आइरहेको छ ।शुक्रवार हुम्लाका दुई जनाको उद्धार गरेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शनिबार डोल्पाकी एक जना सुत्केरीको उद्धार गरेको थियो ।आज आइतबार कालिकोटकी सुत्केरी महिला बमको उद्धार गरेको छ ।उनीहरूको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ भने उनीहरूको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया