जोखिममा रहेका बालबालिकालाई छात्रबृति

जोखिममा रहेका बालबालिकालाई छात्रबृति

हिक्मत बहादुर नेपाली
दैलेख वैशाख २२ ।

विपन्नताका कारण विद्यालय जाने पोषाक र झोला समेत किन्न नसक्न अवस्थाकी शुस्मा परियार नयाँ झोला, विद्यालय पोषाक र शैक्षिक सामग्री पाएसँगै निकै खुसी छिन् । परिवारको आयस्रोत नहुँदा विद्यालयमा पढ्नै सकस हुने शुस्मा नारायण नगरपालिका तर्ताङ्ग स्थित सरस्वती माविमा कक्षा ९ मा पढ्छिन् । ‘किताब कापी हाल्नका लागि झोला थिएन्, विद्यालय पोषाक किन्न पनि सकेको थिईन्,’ उनले भनिन् ‘नयाँ झोला, पोषाक र बर्ष भरि पुग्ने शैक्षिक सामग्री पाएपछि सजिलो हुने भयो ।’ शुस्मा जस्तै नारायण आधारभुत विद्यालयकी १४ बर्षिया निशा नेपाली नयाँ झोला पाउँदा निकै खुसी छिन् । बर्षभरि पुग्ने शैक्षिक सामग्री, झोला र विद्यालय पोषाक दिएपछि पढ्नलाई निकै सहज हुने उनले बताइन् । बाल हेल्पलाइन १०९८, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले आर्थीक तथा सामाजिक रुपमा उच्च जोखिममा परेका र विपन्न बालबालिकालाई शैक्षिक सामग्री, झोला र विद्यालय पोषाक वितरण गरेको हो ।

विभिन्न कारणले जोखिममा परेका विपन्न २१ जना बालबालिकालाई सामग्री प्रदान गरिएको बाल हेल्पलाइन दैलेखका संयोजक रमा श्रेष्ठले बताउनुभयो । ‘बालबालिकाले बाल हेल्पलाइनमा फोन गरेर आफ्नो समस्या जानकारी गराएपछि बालबालिका र उनिहरुका अभिभावकहरुलाई पारिवारिक मनोविमर्श परामर्श समेत ग¥यौ,’ संयोजक श्रेष्ठले भन्नुभयो ‘बालबालिकाको समस्या पहिचान पश्चात विश्लेषण ग¥यौ र आवश्यकता पहिचान गरेर छात्रबृति उपलब्ध गराएका हौ ।’ उहाँका अनुसार नारायण नगरपालिका भित्रका १७ जना, नौमूले गाउँपालिकाका ३ जना, दुल्लु नगरपालिकाका १ जना र महाबु गाउँपालिकाका १ जनालाई सामग्री प्रदान गरिएको हो । नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्का, जिसस दैलेखका निमित्त समन्वय अधिकारी पदम सापकोटा, सोसेकका अध्यक्ष हीरासिंह थापा, जिल्ला प्रशासन कार्यालय दैलेखका खरिदार लेखा पौडेलले संयुक्त रुपमा बालबालिकालाई झोला तथा विद्यालय पोषाक र कापी कलम वितरण गर्नुभएको हो ।
बालबालिकालाई छात्रबृति प्रदान गर्नुहुँदै नगरप्रमुख खड्काले जोखिममा परेका र विपन्न बालबालिकाका लागि बाल हेल्पलाइनले महत्वपूर्ण कार्य गरिरहेको बताउनुभयो । बाल हेल्पलाइनको भवन निर्माणमा सहयोगार्थ चालु आर्थीक बर्षमा नगरपालिकाबाट पाँच लाख रुपैयाँ बजेट विनियोजन भएको बताउदै नगरप्रमुख खड्काले आगामी बर्ष पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सोसेकका अध्यक्ष हीरासिंह थापाले नयाँ शैक्षिक सत्र सुरु भएसँगै विपन्न बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको बताउनुभयो । शिक्षा प्राप्त गर्ने अधिकारबाट कोही पनि बालबालिका बञ्चित हुन नहुने उहाँको भनाई छ । उहाँले सरकारले लिएको लक्ष पुरा गर्न बाल विवाह अन्त्यको अभियानमा लाग्न सबैलाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया