बालअधिकार तथा बालसंरक्षण सम्बन्धि तालिम सम्पन्न

बालअधिकार तथा बालसंरक्षण सम्बन्धि तालिम सम्पन्न

दैलेख वैशाख २७ गते ।

बालसंरक्षण समिति र पारासामाजिक कार्यकर्ताको क्षमता विकास गर्ने उद्धेश्यले आयोजना गरिएको बालअधिकार तथा बालसंरक्षण सम्बन्धि तालिम सम्पन्न भएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारी र गुराँस गाउँपालिकाको समन्वयमा सञ्चालित सहयात्रा परियोजना दोस्रोको आयोजनामा तालिम संचालन भएको थियो ।
तालिमको सहजिकरण गर्दै बालबालिकालाई शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक व्यवहारबाट उनीहरुलाई जोगाउनु बालसंरक्षण भएको तालिम सहजकर्ता निर्मल अधिकारीले बताए । उनले भने ‘सबै बालबालिकालाई आफ्नो अधिकारको प्रत्याभूति गरी जोखिममा पर्न नदिनु राज्य तथा परिवारको दायित्व हो ।’ जोखिमको खतरामा रहेका बालबालिकालाई समयमै सहयोग गर्नु र हानी वा दुव्र्यवहारमा परेका बालबालिकाको घटना व्यवस्थापन तथा पुनःस्थापनामा सहयोग गर्नका लागि वडा बालसंरक्षण समिति सक्रिय हुनुपर्ने अधिकारीको भनाई थियो ।
उक्त तालिममा बालअधिकारको विकासक्रम, पारासामाजिक कार्यकर्ताको काम कर्तव्य र अधिकार, बालबालिकाको क्षेत्रमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, जोखिममा रहेका बालबालिकाको पहिचान तथा घटना व्यवस्थापन, लगायत बालसंरक्षण नीतिका विषयमा छलफल गरिएको थियो ।
तालिमको समापनमा आफ्नो भनाई राख्दै गुराँस गाउँपालिकाका श्रोत व्यक्ति देवकुमार वि.सि.ले भने बालबालिकालाई माया, दया र स्नेहमा हुर्काउन सकिएन भने भविश्यका कर्णधार बालबालिकामा प्रतिभाको विकास हुदैन् । हामी तालिम लिन्छौ र तालिम दिन्छौं तर हामीले प्राप्त गरेका र दिएका तालिम उपलब्धिमुलक हुन सकिरहेका छैनन् । बालअधिकार, बालसंरक्षण र घट्ना व्यवस्थापन सम्बन्धि तालिम हाम्रो व्यवहारीक जीवनमा प्रयोग हुने भएकाले सबैले प्रयोग गर्न उनले आग्रह गरेका थिए ।
अधिकार आधारभूत स्वतन्त्रता भएकाले बालअधिकारको संरक्षण र सम्बद्र्धन गर्ने दायित्व हामी सबैको भएको सहयात्रा परियोजना दोस्रोका परियोजना निर्देशक नवराज विसिले बताए । उनले भने ‘अधिकार जहिले पनि कर्तव्य र जिम्मेवारीसँग गासिएको हुन्छ, त्यसैले अधिकारसँग जोडिएर आएको जिम्मेवारी पुरा गर्नु आवश्यक छ ।’
जोखिममा रहेका बालबालिकालाई संरक्षण गर्न आवश्य भएको तालिमका सहभागी गुराँस गाउपालिका वडा नं ५ का वडा बालसंरक्षण समितिका सदस्य नगेन्द्र प्रसाद रिजालले बताए । उनले भने ‘बालसंरक्षण समितिले जोखिममा रहेका बालबालिकाको तथ्याँक संकलन गरिरहेको छ जुन तथ्याँक हेर्दा हाम्रो समाजको वास्तविकता झल्किएको छ ।’ कोही पारिवारीक तथा आर्थिक समस्या र कोही अपाँगताका कारण विद्यालय जान नसकेका बालबालिकाहरुको संख्या बढीरहेको उनले बताए । त्यस्ता बालबालिकाहरुको सहयोगका लागि बालसंरक्षण समितिले कार्ययोजना तयार गरी राहत तथा पुनस्थापनाका लागि पहल गरिएको रिजालको भनाई थियो ।

प्रतिक्रिया