सात महिनामै गुराँस फर्कीए राउटे समुदाय

सात महिनामै गुराँस फर्कीए राउटे समुदाय

दैलेख जेठ १८ गते ।

सुख्खा खोला छेउमै लहरै टाँगिएका पाल । राउटे समुदायका केहि नागरिकहरु झुण्ड झुण्डमा गफिदै थिए । उनिहरुको बस्ती सर्ने तरखर अघिल्लो दिन देखिनै रहेछ । बस्ती सर्दा आफ्ना सर–सामान बोकेर हिडेरै एक ठाउँ देखि अर्को ठाउँ जाने राउटे समुदायको बस्तीमा यो पटक बस्ती सर्दाको दृष्य फरक थियो । कोही पाल भत्काउँदै थिए, कोही सर–सामान पोको पार्दै । एकै छिनमा बस्ती नजिकै तीन वटा बस र दुई वटा ट्रक पुगे । पोको पारिएका सामान हतारिदँै ट्रक र बसभरी लोड गरे । राउटे नागरिकहरु बस चढे र बस्ती सर्ने गन्तव्य तर्फ लागे । टाढाबाट झट्ट हेर्दा लहरै चिटिक्क परेको राउटे बस्ती एकै छिनमा सुनसान जस्तै बन्यो । उनिहरु पहिलो पटक बस चढेर बस्ती सरेका हुन् ।
जंगलमा फिरन्ते जीवन विताउँदै आएका राउटे समुदाय सुर्खेतबाट दैलेख सरेका हुन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ गुमी स्थीत बेतेती खोला किनारमा बस्दै आएको राउटे बस चढेर दैलेखको गुराँस गाउँपालिकाको निगालपानी बस्ती सरेका हुन् । दैलेखको गुराँस गाउँपालिकाले राउटेलाई गत बर्ष स्थायी परिचय पत्र वितरण गरेर आफ्नो गाउँपालिकाको बासिन्दा बनाएको थियो । स्थायी परिचय पत्र वितरण सँगै गुराँस गाउँपालिकाले राउटेलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।

‘हामी आफ्नै गाउँपालिकामा आएका छौ, राउटे मुखिया सुर्यनारायण शाहीले भन्नुभयो ‘अब गुराँस गाउँपालिककै आसपासमा बस्छौ, गुराँस छोडेर जाँदैनौ ।’ बस्ती सर्दा पहिलो पटक बस चढेको मुखिया शाहीको भनाई छ । बस चढेर बस्ती सर्न पाउँदा जनता खुरी भएको मुखिया शाहीले बताउनुभयो । ‘हामी एउटै ठाउँमा बस्दैनौं, ठाउँ–ठाउँमा बस्ती सर्दैै गछौँ’ मुखिया शाहीले भने, ‘अव बस्ती सर्दा हिँडेर जाँदैनौं, गाडी चढेर जान्छौँ ।’ बस्ती सरेर गुराँस गाउँपालिकाको निगालपानी पुगेका राउटे मुखिया दील बहादुर शाहीले भन्नुभयो ‘तराईमा सहि नसक्नु गर्मी छ, गर्मी छल्न यहाँ आएका हौ ।’ सुर्खेतको गुर्भाकोटबाट हिँडेर दैलेखको गुराँस गाउँपालिका आउन दुई–तीन दिन लाग्थ्यो, राउटे युवा दिपक शाहीले भने ‘बस चढेर आउँदा तीन घण्टामै पुग्यौँ ।’ अब बस्ती सर्दा हिडेर नजाने शाहीले बताए ।
राउटेलाई सुर्खेतबाट दैलेख गाउँपालिकासम्म ल्याउन गुराँस गाउँपालिका र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले सहयोग गरेका थिए । राउटे समुदाय सात महिना अघि सुर्खेत झरेका थिए । एक पटक बसेको ठाउँमा फेरी बस्ती बसाउन १० देखि १२ बर्ष लगाउने राउटे यस पटक सात महिनामै फर्कीएका हुन् । उनिहरु दैलेखबाट सुर्खेत झरेर विरेन्द्रनगर नगरपालिका, लेकबेसी नगरपालिका र गुर्भाकोट नगरपालिकाका विभिन्न स्थान गरी एक दर्जन स्थानमा बस्ती बसेका थिए । सुर्खेत हुँदै सल्यान दाङसम्म पुगेर फर्कने यो समुदाय यस पटक भने बीचैबाट दैलेखको गुराँस गाउँपालिको फर्किएको हो ।

गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले राउटे समुदायका हेरचाह र सामाजिक सुरक्षा भत्ता वितरणमा सहज हुने भएकाले सुर्खेतबाट गुराँस गाउँपालिकामा ल्याइएको बताउनुभयो । गुराँस गाउँपालिका–७ का वडाध्यक्ष हुकुम खत्रीले विगत एक बर्ष देखि राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताउँदै राउटे समुदायले गुराँसमा आउने बताएपछि आफुहरुले बस रिजर्भ गरेर ल्याएको बताउनुभयो । गुराँसमा आउन पाउँदा राउटे समुदाय खुसी भएको खत्रीको भनाई छ । राउटे समुदायमा काम गर्न राउटे परियोजना संचालन गरेको सामाजिक सेवा केन्द्र (सोसेक) का अध्यक्ष हीरासिंह थापाले राउटे समुदाय सामाजिकीकरण हुँदै गएको बताउनुभयो । ‘गुराँस गाउँपालिका प्रति राउटेहरुको अपनत्व बढेको छ, थापाले भन्नुभयो ‘राउटे समुदाय परिवर्तनको संघारमा छन् ।’ ‘पहिले राउटे समुदाय आफू बस्ती सर्ने ठाउँको बारेमा भन्न मान्दैनथ्यो, अहिले आफै उनीहरु जानकारी दिन आउँछन्’ थापाले भन्नुभयनो ‘राउटे समुदायमा पछिल्लो समय उल्लेख्य परिवर्तन भएको छ ।’ राउटे समुदायको ४२ घरधुरीमा एक सय ४६ जनाको जनसंख्या छ ।

प्रतिक्रिया