रारा घुम्‍न हेलिकप्टर प्याकेज

रारा घुम्‍न हेलिकप्टर प्याकेज

मुगु : रारा तालदेखि छायाँनाथ धाम भ्रमण अवलोकनका लागि हेलिकप्टर प्याकेज ल्याइएको छ। रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा हेलिकप्टर प्याकेजमार्फत रारा–छायाँनाथ धाम भ्रमण अवलोकन गर्न सकिने भएको हो।  

पर्यटकलाई थप मनोरञ्जन दिलाउन र अवलोकनका लागि सहज बनाउन हेलिकप्टरमार्फत घुम्ने व्यवस्था गरिएको भिजिट कर्णाली टूर एन्ड ट्राभल्सका सञ्चालक राजु कार्कीले बताए। उनका अनुसार नेपाल भ्रमण वर्ष–२०२० लाई लक्ष्य गरी असार महिनाको पहिलो साताबाट हेलिकप्टर प्याकेज लागू हुने भएको हो। हिन्दूका चार मुख्य धाममध्ये छायाँनाथ क्षेत्र धाम पर्यटकका लागि आकर्षक स्थान मानिन्छ। तर यातायात र हवाईसेवा सहज नहुँदा पर्यटक सहजै छायाँनाथ पुग्न सकेका छैनन्।  

सञ्चालक कार्कीले भने, ‘रारा पुग्ने पर्यटकले राराको पानी र वन जंगलमात्र हेर्ने काम भयो, अब हेलिकप्टरमार्फत छायाँनाथदेखि मुगुको पूरै दृष्य अवलोकन गर्न सकिने छ।’ यसले पर्यटकको रारामा बसाइ पनि लामो हुने अपेक्षा गरिएको छ। राराबाट देखिने छायाँनाथ हेलिकोप्टरमार्फत एकैपटक अवलोकन गर्न पाइनेछ। रारादेखि हिँडेर छायाँनाथ क्षेत्र आउजाउ गर्न पाँच दिनसम्मको पैदल यात्रा गर्नुपर्छ।  

हिन्दू धर्मअनुसार महादेवले शतिदेवीको शव बोकेर घुम्दै जाने क्रममा अन्तिम अंग पतन भएको स्थान र विश्वका चार मुख्य धाममध्ये जेठो धाम छायाँनाथ क्षेत्रलाई मानिन्छ। रारा—छायाँनाथ हेलिकोप्टरको ३० मिनेट यात्रामा प्रतिव्यक्ति ३५ हजार शुल्क लाग्नेछ। रारादेखि छायाँनाथ माथिल्लो मुगु हुँदै पुनः रारा फर्काइने यो यात्रामा कैलाश मानसरोवरको समेत अवलोकन गर्न पाइनेछ। Annpurnapost

प्रतिक्रिया