सुनौला हजार दिनका आमालाई चल्ला

सुनौला हजार दिनका आमालाई चल्ला

दैलेख असार ४ गते ।
सुनौला हजार दिनका आमालाई लक्षित गर्दै उन्नत जातका कुखुराका चल्ला वितरण गरिएको छ । नारायण नगरपालिका–३ ले गर्भवती महिला र शिशुको पोषण स्थितीमा सुधार ल्याउन कुखुराका चल्ला वितरण गरेको हो । नारायण नगरपालिका–३ को आयोजना तथा बहुक्षेत्रिय पोषण कार्यक्रमको समन्वयमा मंगलवार कुखराका चल्ला वितरण गरिएको हो ।
नारायण नगरपालिका–३ का एक सय १४ जना सुनौला हजार दिनका आमालाई कुखुराका चल्ला वितरण गरिएको हो । आमा र बच्चाको पोषणमा सहयोग गर्ने उद्देश्यले प्रत्येक सुनौला हजार दिनका आमालाई ११ वटा चल्ला वितरण गरिएको वडाध्यक्ष चन्द्रप्रसाद उपाध्यायले बताउनुभयो ।

नगरपालिकाले महिला स्वास्थ्य स्ंयमसेवीकाहरुबाट सुनौला हजार दिनका आमाहरुको तथ्यांक संकलन गरेर सोहि अनुसार कुखुराका चल्ला वितरण गरेको हो । कुखुराका चल्ला धेरै अन्डा दिने उन्नत प्रजातिका भएकाले महिला र शिशुको पोषण अवस्थामा सुधार आउने अपेक्षा गरिएको वडाध्यक्ष उपाध्यायले बताउनुभयो ।
मातृ तथा बाल पोषण सुधारमा नियमित अन्डा सेवन अत्यन्त महत्वपूर्ण रहेको बहुक्षेत्रिय पोषण कार्यक्रमका संयोजक पवित्रा सापकोटाले बताउनुभयो । ‘महिलाले गर्भवती अवस्थामै पोषणयुक्त खाना जान जरुरी छ,’ उहाँले भन्नुभयो । गर्भवतीको पोषणस्तर सुधार्न नगरपालिका मार्फत अन्य कार्यक्रम समेत सञ्चालन भइरहेका छन् ।

प्रतिक्रिया