डेढ लाख विरुवा तयार

डेढ लाख विरुवा तयार

हिक्मत बहादुर नेपाली
दैलेख असार १० गते ।

दैलेखका विभिन्न स्थानमा स्थापना गरिएको नर्सरीमा एक लाख ६५ हजार विरुवा तयार गरिएको छ । जिल्लाको दूल्लु नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, डुङ्गेश्वर गाउँपालिका र भगवतीमाई गाउँपालिकामा विरुवा उत्पादन गरिएको हो । पहाडी साना किसानका लागि अनुकुलन आयोजनाले विरुवा उत्पादन गरेको हो । आयोजनाले उप–आयोजना मार्फत उत्पादन गरेको यी विरुवा निशुल्क वितरण गरिनेछ । दुल्लु नगरपालिका–११ कालभैरबको हुडुङ्गे सामुदायिक वन नर्सरीमा ३० हजार, कालभैरबको पिपलचौर कबुलियती वनमा ३० हजार विरुवा उत्पादन गरिएको रेन्जर भुपालनाथ योगीले बताउनुभयो । रेन्जर योगीका अनुसार डुङ्गेश्वर गाउँपालिकाको जिलिङ्गे कबुलियती वनमा ४० हजार, भगवतीमाई गाउँपालिकाको वामझेला मरिचेपाखा सामुदायिक वनमा नर्सरी निर्माण गरेर २५ हजार विरुवा तयार गरिएको छ । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिका–८ को चिम्ल्या सुकेपीउली सामुदायिक वनमा ४० हजार विरुवा उत्पादन गरिएको जिल्ला आयोजना समन्वय ईकाई दैलेखले जनाएको छ ।
वन तथा वातावरण मन्त्रालय अन्तरगर्त संचालित आयोजनाको १० लाख ६६ हजार, नगरपालिका÷ गाउँपालिकाको ४ लाख ८६ हजार स्थानीय समुहको ३ लाख ९८ हजार बराबरको श्रमदानमा निःशुल्क वितरण गर्न एक लाख ६५ हजार विरुवा तयार पारेको हो । उत्पादन भएका विरुवा मनसुन सुरुभएसँगै कृषकलाई वितरण गरिनेछ । ‘वर्षाको मौसम शुरु हुन्छ अनी यी विरुवा वृक्षारोपणको लागि निःशुल्क प्रदान गर्छौ’, जिल्ला आयोजना संयोजक धर्मराज उपाध्यायले भन्नुभयो ।
नर्सरीमा अम्लिसो, नेपीयर, बकाइनो, इपीलइपील, कोइराला, टाँकी, भटमासे, मेनदुला, राईखनिउ, लप्सी, सिसौ, चिउरी जातका विरुवा उत्पादन गरिएको हो । यसबाट करिब ३० हजार कृषक लाभान्वित हुने आयोजनाले जनाएको छ । उत्पादिन विरुवा बाख्रा पालन समुहका कृषक र तरकारी खेती कृषकलाई वितरण गरिनेछ । यी विरुवा सामुदायिक वन र कृषकको बारीमा वृक्षारोपण गरिनेछ । सामुदायिक वनका नांगो डाँडा, पहिरो र भूक्षयको जोखिममा रहेका स्थानमा वृक्षारोपण गरिने आयोजनाले जनाएको छ । एउटा विरुवा हुर्काउन १० रुपैयाँ खर्च भएको छ । नर्सरीको रेखदेख सामुदायिक तथा कबुलियती वनका अध्यक्ष र नर्सरी नाइकेले गरेका छन् । आयोजनाको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सामाजिक सहजिकरण गरेको छ ।

प्रतिक्रिया