दैलेखका स्थानीय तहको नीति तथा बजेट : प्राथमिकतामा कृषि, पर्यटन, लघुउद्यम र पूर्वाधार

दैलेखका स्थानीय तहको नीति तथा बजेट :  प्राथमिकतामा कृषि,   पर्यटन, लघुउद्यम र पूर्वाधार

दैलेखको नारायण नगरपालिकाको चौथो नगरसभामा सहभागि अतिथीहरु । तस्वीर ः हिक्मत बहादुर नेपाली ।

हिक्मत बहादुर नेपाली
दैलेख असार १० गते ।
कृषि, पर्यटन, लघुउद्यम शिक्षा र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्दै दैलेखका स्थानीय तहहरुले आगामी आर्थिक बर्षको नीति तथा बजेट मंगलवार प्रस्तुत गरेका छन् । जिल्लाका ४ नगरपालिका र ७ गाउँपालिकाले आ–आफ्नो गाउँ र नगरसभामा नीति तथा बजेट सार्वजनिक गरेका हुन् । दैलेखका स्थानीय तहहरुले पञ्चकोशी तिर्थस्थललाई जोडेर पर्यटन विकासलाई प्राथमिकता दिएका छन् । नारायण नगरपालिकाले आर्थीक बर्ष २०७६/०७७ को बजेटमा नगर चक्रपथ तथा पञ्चकोशी कोटिला तालको पूर्वाधार निर्माण गर्ने लक्ष अघि सारेको छ । दैलेख श्रीस्थान, नाभिस्थान, कोटिला पञ्चकोशी मार्ग स्त्तरोन्नती लगाएतका योजनालााई अगाडी बढाउने गरि नारायण नगरपालिकाले बजेट विनियोजन गरेको छ । चौथो नगरसभामा उपमेयर सावित्री मल्लले नीति तथा बजेट प्रस्तुत गर्दै आर्थीक बर्षका लागि ५० करोड २६ लाख ९५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।
पस्तुत बजेटमा संघीय सरकारको शर्शत अनुदान १८ करोड १४ लाख, वित्तिय समानीकरण १० करोड ५७ लाख, राजश्व बाडफाँडबाट ७ करोड ९१ लाख, सामाजिक सुरक्षा भत्ता ४ करोड ५० लाख, प्रदेश सरकारबाट वित्तिय समानिकरण १ करोड ७८ लाख, राजश्व बाडफाँडबाट २० लाख ५६ हजार जुटाइने उपप्रमुख मल्ले बताउनुभयो । बजेटमा आन्तरिक स्रोतबाट १ करोड १० लाख, बहक्षेत्रीय पोषण कार्यक्रम १४ लाख ६७ हजार, सडक बोर्ड ४५ लाख, गरिबसंग विश्वेश्वर कार्यक्रम (पुजिँगत) २ लाख, स्थानीय पूर्वाधार विकास कार्यक्रम २ करोड, प्रधानमन्त्री रोजगार कार्यक्रम ७० लाख, समपुरक अनुदान १ करोड, गत बर्षको मौज्दातबाट १ करोड ५० लाख जुटाइने उपमेयर मल्लले बताउनुभयो ।
त्यस्तै दुल्लु नगरपालिकाले ६२ करोड २५ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पाँचौ नगरसभामा नीति तथा बजेट सार्वजनिक गर्नुहुँदै उपप्रमुख विष्णु थापाले धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्रको विकास, प्रवद्र्धन र प्रचार प्रसार गर्ने, कृषिको व्यवसायीकरण र बजारीकरण गर्ने, आर्थिक, सामाजिक, पूर्वाधार क्षेत्र, वातावरण तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रगत कार्यक्रम संचालन गरी समग्र दुल्लूको विकास गर्ने लक्ष लिएको बताउनुभयो ।
उत्पादनमुलक र छिटो प्रतिफल दिने, दुल्लू क्षेत्रको संस्कृति, सम्पदा र पहिचान बढाउने, दुल्लू क्षेत्रको पर्यटन विकास गर्ने लक्ष दुल्लु नगरपालिकाले लिएको छ ।
यस्तै दैलेख पश्चिमको आठबीस नगरपालिकाले सामाजिक सुरक्षाको बजेट समावेश नगरी बजेट ल्याएको छ । उपमेयर दिपा बोहोराले ३८ करोड ८७ लाखको नीति तथा बजेट सार्वजनिक गर्नुभयो । नगरले कृषि, पूर्वाधार विकास, पर्यटन र सामाजिक विकासमा जोड दिएको उपमेयर बोहोराले बताउनुभयो ।
जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले मंगलवार नीति तथा कार्यक्रम मात्रै सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष सिता ज्ञवालीले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा ‘शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार ः यसका लागि पूर्वाधार’ भन्ने नारालाई आत्मसात गरेको छ । गाउँपालिकाले विभिन्न बिषयगत तथा क्षेत्रगत गुरुयोजनाका आधारमा विकास निर्माण कार्यलाई अघि बढाउनका लागि परियोजना बैंक निर्माण गर्ने गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्ले बताउनुभयो । ‘एक–घर एक धारा’को अवधारणा, ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नो गाउँपालिका’ नारा सहित सबै विद्यार्थीहरुलाई आफ्नो भुमि सम्बन्धी अपनत्व गराउने नीति गाउँपालिकाले लिएको छ । गाउँपालिकाले ‘खरमुक्त घर’ को अवधारणालाई सबै वडाहरुमा विस्तार गर्ने भएको छ ।
यस्तै भगवतीमाई गाउँपालिकाले सामाजिक सुरक्षा समावेश नगरी व्यावसायिक कृषि, पशुपालन र पुर्वाधारलाई प्राथमिकतामा राखेर ३८ करोड ८७ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष चन्द्रा रेग्मीद्धारा प्रस्तुत नीति तथा बजेटमा ऊर्जा, सडक, खानेपानी, सिचाई, सूचना संचार तथा प्रविधि जस्ता पूर्वाधारहरुको विकास कृषि, पशुपालन, जडीबुटी, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई, सामाजिक न्याय र समावेशीकरणलाई प्राथमिकतामा राखिएको छ ।
यस्तै महाबु गाउँपालिकाले ३४ करोड ३८ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । आन्तरिक राजस्व १८ लाख, राजस्व बाँडफाँटबाट ६ करोड ७५ लाख, संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान ८ करोड २९ लाख, शर्शत अनुदान ११ करोड ४९ लाख, चालु आर्थीक वर्षको नगद मौज्दात १२ लाख, प्रदेशबाट प्राप्त हुने अनुदान १ करोड ९८ लाख र सामाजिक सुरक्षा ५ करोड ५० लाख जुटाइने गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी बुढाले बताउनुभयो । गाउँपालिकाले कृषि पर्यटन, सडक पूर्वाधार, स्वास्थ्य शिक्षा र खानेपानीलाई विशेष प्राथमिकतामा राखेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर मल्लले बताउनुभयो ।
यस्तै दैलेखको गुराँस गाउँपालिका, नौमूले गाउँपालिका, भैरबी गाउँपालिका, ठाटीकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकाले कृषि, सडक र शिक्षा सुधारका साथै पर्यटन विकासलाई समेत प्राथमिकतामा राख्दै मंगलवार नीति तथा बजेट सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया