डाक्टर पढ्न ५० प्रतिशत छात्रबृति

डाक्टर पढ्न ५० प्रतिशत छात्रबृति

दैलेख ।
दैलेखको गुराँस गाउँपालिकाले डाक्टर, इन्जिनियर, पाइलट, चार्टर एकाउन्टेन, फार्मेसी पढ्न चाहनेलाई छात्रबृत्ती उपलब्ध गराउने भएको छ । कृषि पर्यटन र रोजगारीलाई उच्च प्राथामिकतामा राखेर सार्वजनिक गरिएको आर्थिक वर्ष २०७६/०७७ नीति, कार्यक्रम तथा बजेटमा गाउँपालिकाले छात्रबृत्ति उपलब्ध गराउने नीति लिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी विसीले प्रस्तुत गर्नुभएको नीति, कार्यक्रम तथा बजेटमा उच्च शिक्षा डाक्टर, इन्जिनियर, पाईलट, चार्टर एकाउन्टेन, फार्मेसी अध्ययन गर्न चाहने गरिब, जेहेन्दार, दलित, महिला, जनजाती विद्यार्थीलाई अध्ययन गर्न ५० प्रतिशत छात्रवृत्तीको दिइने उल्लेख छ । गाउँपालिकाले गुराँस बहुमुखी क्याम्पस संचालनका लागि आवश्यक सहयोग नीति तथा कार्यक्रममा समावेश गरिएको छ । युवा रोजगार, नागरिक सुरक्षा कार्यक्रम, गरिबसंग विश्वेश्वर र ‘अध्यक्ष स्वरोजगार कार्यक्रम’ लाई छुट्टै परियोजना बनाएर रोजगारी सृजना गरिने उपाध्यक्ष विसीले बताउनुभयो ।
पर्यटन क्षेत्रतर्फ गाउँपालिकाले होमस्टे, भ्यु टावर तथा पर्यटन पार्क, ऐतिहासिक संग्रालाय ढिक्की, जाता, चरापाखे घर, कोल निर्माण गरी पर्यटन आकर्षण बढाइने उपाध्यक्ष विसीद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसैगरी गुफा, गुराँस लगायतका प्राकृतिक सम्पदाहरुको संरक्षण गरी पर्यटन विकास गर्ने नीति गाउँपालिकाले लिएको छ । उपाध्यक्ष विसीका अनुसार आगामी तिन बर्षभित्र गाउँपालिकाका सबै घरमा विद्युत विस्तार गरिनेछ ।

गाउँपालिकाले अर्गानिक कृषिलाई विशेष महत्व दिएको छ । ‘कृषि नमुना गाउँ : गुराँसमा हेर्न जाउँ’ भन्ने नारा तय गरी किसानका बारीमा सिंचाई सुविधा पु¥याएर तरकारी खेती, नगदेबाली, तथा पशुपालनमा युवाको आकर्षण बढाई रोजगारी सृजना गरिने गाउँपालिकाका लक्ष छ । महिला स्वास्थ्यमा ध्यान राख्दै ‘गर्भवती महिलासँग उपाध्यक्ष’ कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी दुई बर्ष भित्र छाउपडी र छुवाछुतमुक्त गाउँपालिका बनाउने लक्ष लिएको उपाध्यक्ष विसीले बताउनुभयो ।
३५ करोडको बजेट
गुराँस गाउँपालिकाको पाँचौ गाउँसभाबाट कृषि, पर्यटन र रोजगारीलाई उच्च प्राथमिकता दिदै ३५ करोड १६ लाख ७५ हजारको बजेट सार्बजनिक गरेको छ । संघीय सरकारबाट शर्शत अनुदान १६ करोड ४७ लाख, वित्तिय समानिकरण ८ करोड ९७ लाख जुटाइने गाउँपालिकाका उपाध्यक्ष दिपा कुमार विसीले बताउनुभयो । त्यसैगरी, राजस्व बाँडफाँडमा ७ करोड ५५ लाख र पोषण कार्यक्रम (शर्शत) मा १४ लाख ४० हजार, प्रदेश सरकारबाट वित्तिय समानिकरण तर्फ १ करोड ११ लाख, प्रदेश सरकार सवारी कर साधन बाँडफाँड मार्फत १० लाख ५४ हजार, गाउँपालिकाले आफ्नो अनुमानित आन्तरिक आम्दानी ९२ लाख ७० हजार जुटाइने उपाध्यक्ष विसीले बताउनुभयो ।

गाउँपालिकाले पूर्वाधार विकासतर्फ ६ करोड ९६ लाख बजेट बिनियोजित गरेको छ । आर्थिक विकास तर्फ १ करोड ९० लाख, वन तथा वातावरण तर्फ ३० लाख रकम विनियोजित गरिएको छ । त्यस्तै, सामाजिक विकास तर्फ शिक्षामा १ करोड ७० लाख, स्वास्थ्यमा ६७ लाख ५६ हजार, खानेपानी तथा सरसफाईमा १ करोड ५० लाख रकम प्रस्तुत गरिएको छ । यस्तै, संस्कृति प्रवद्र्धनमा ९ लाख, लैङ्गिक समानता तथा समावेशिकरणमा १ करोड ६ लाख ९२ हजारको बजेट विनियोजन गरिएको छ । त्यसैगरी, संस्थागत विकास तथा सेवा प्रवाहतर्फ १० लाख, वित्तिय व्यवस्थापन सुशासन र सुरक्षा तर्फ १५ लाख र पोषण शिक्षा तर्फ १४ लाख ४० हजारको बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया