भलकुलोले रोकियो कटान

भलकुलोले रोकियो कटान

हिक्मत नेपाली, दैलेख असार १२ गते ।
गत बर्षातमा आएको भल दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरी देउली स्थित स्वास्थ्य चौकी परिषरमा पसेर जलमग्न बन्यो ।भलले बगाएर लगेका ढुंगा र बगरहरु स्वास्थ्य चौकीमा पस्यो । स्वास्थ्य चौकी वरपर रहेका घरहरु कटानको जोखिममा परे । सोहि भल नियन्त्रण र कटानबाट जोगाउन यस बर्ष भल कुलो निर्माण गरिएको छ ।

पहाडी साना किसानका लागि अनुकुलन आयोजनाले स्थानीय जलवायु अनुकुलन कार्यक्रम अन्तरगर्त संकटासन्नता क्षेत्रलाई प्राथमिकता दिदै भल कुलो निर्माण गरिएको हो ।भल कुलो निर्माण भएसँगै कटान रोकिनुका साथै स्वास्थ्य चौकीमा भल पस्ने जोखिम हटेर गएको स्वास्थ्य चौकीका प्रमुख बालकृष्ण विष्टले बताउनुभयो । हाल यहाँ रहेको देउली बजार र विद्यालय क्षेत्रमा पानी जम्मा भएर बग्ने भल बस्ती र स्वास्थ्य चौकीमा पस्ने समस्या समाधान भएको छ ।

आयोजनाको ४ लाख ४३ हजार रुपैयाँ अनुदान र १ लाख १० हजार बराबरको श्रमदान गरि कुल ५ लाख ५४ हजार खर्चेर भल कुलो निर्माण गरिएको आयोजनाका इन्जिनियर चन्द्रप्रकाश केसीले बताउनुभयो ।यहाँको जलकल्याण बचत तथा ऋण सहकारी संस्था मार्फत भल कुलो निर्माण कार्य सकिएको सहकारीका अध्यक्ष रुद्ध बहादुर विष्टले बताउनुभयो ।

भल कुलो निर्माणका लागि मान बहादुर बुढाको संयोजकत्वमा उपसमिति गठन गरिएको विष्टको भनाई छ । आयोजनाको सामाजिक सहजिकरण सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले गरिरहेको छ ।

प्रतिक्रिया