राउटेलाई बाख्रा वितरण

राउटेलाई बाख्रा वितरण

कर्णालीका विभिन्न जिल्लामा घुमन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायलाई बाख्रा वितरण गर्दै गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली । गाउँपालिकाले राउटे समुदायका ४६ घरपरिवारलाई एक÷एक वटा बाख्रा वितरण गरेको छ । तस्बिर ः हिक्मतबहादुर नेपाली

हिक्मत बहादुर नेपाली
दैलेख असार १९ गते।

दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायलाई बाख्रा उपलब्ध गराएको छ । कर्णालीका विभिन्न जिल्लामा भ्रमणशिल जीवनयापन गर्दै आएका राउटे समुदायलाई गाउँपालिकाले सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलखसँगको सहकार्यमा बाख्रा उपलब्ध गराएको हो । साउन १ गते अर्थात साउने संङ्क्रान्ति मनाउन राउटे समुदायलाई बाख्रा वितरण गरिएको हो । राउटे समुदायले साउने संङ्क्रान्ति धुमधामका साथ मनाउने गर्दछन् । साउन १ गतेलाई लुतो फाल्ने दिनको रुपमा समेत मनाउने गरिन्छ । समुदायका ४६ घरपरिवारलाई प्रति परिवार एक वटा बाख्रा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो ।पर्व मनाउनका लागि राउटे समुदायले बाख्रा माग गरे अनुसार बाख्रा दिइएको उहाँको भनाई छ ।
साउन १ गतेलाई राउटेले आफ्नै परम्परा र संस्कृति अनुसार पर्वको रुपमा मनाउँदै आएको मुखिया सुर्यनारायण शाहीले बताए । ‘त्यो दिन विशेष पर्व हो, दिनभरी पर्व मनाउने गर्छौ,’ मुखिया शाहीले भने ‘यो पर्व पनि दशै जत्तिकै महत्व छ ।’ ‘बाख्रा, कुखुरा काट्ने, सेल पकाउने, नयाँ कपडा लगाउने, नाचगान गर्छौ,’ राउटे मुखिया शाहीले भने ‘ राउटेको लागि दशै, मंसिर र साउने संङ्क्रान्ति भन्दा ठुलो कुनै चार्ड छैन् ।’ बाख्रा पाउँदा राउटे समुदायका बालबालिका, महिला, बृद्धबृद्धा खुसी भएका छन् । राउटे समुदायलाई अघिल्लो बर्ष गुराँस गाउँपालिकाले स्थायी बासिन्दाको रुपमा परिचयपत्र दिएको थियो । हाल राउटे समुदायमा गुराँस गाउँपालिका वडा नंं. ५ कान्छिबजार स्थित जिलानेमा बसोबास गर्दै आएका छन् । उनिहरु एक सय ४६ जना छन् ।

प्रतिक्रिया