प्रधानमन्त्री रोजगार कार्यक्रम :५२ जना राउटेलाई रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रम :५२ जना राउटेलाई रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी पाएका राउटेहरु वृक्षरोपण गर्दै । दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका ५२ जनालाई रोजगारी दिएको छ । तस्बिर ः हिक्मतबहादुर नेपाली

हिक्मत बहादुर नेपाली
दैलेख असार १९ गते ।

कर्णालीका विभिन्न जिल्लामा भ्रमणशिल जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदायले रोजगारी पाएका छन् । सामुदायिक वन क्षेत्रको काठ काटेर कलात्मक भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आएको राउटे समुदायका युवा र महिलाहरुलाई रोजगारी प्रदान गरिएको हो । उनिहरुलाई दैलेखको गुराँस गाउँपालिकाले रोजगारी प्रदान गरेको हो । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तरगर्त समुदायका युवा, महिला गरी ५२ जनालाई रोजगारी दिइएको हो । कार्यक्रम अन्तरगर्त रोजगारी पाएको राउटेलाई नांगो डाँडाहरुमा बृक्षारोण गर्न लगाइएको छ । उनिहरुले वन संरक्षणको कार्य गर्ने गाउँपालिकाले जनाएको छ । उनिहरुले टिमुर, काउलो लगाएतका विरुवा बृक्षारोपण गर्नुका साथै वन संरक्षणको कार्य गर्नेछन् । त्यसका लागि गाउँपालिकाले विभिन्न औजारहरु समेत उपलब्ध गराएको छ । राउटेहरु अब रुखहरु काट्ने र मास्ने मात्र नभई बृक्षारोपण गर्नुपर्छ भन्ने भावना जगाउने गाउँपालिकाले लक्ष लिएको छ । उनिहरुलाई काम गरे वापत राष्ट्रिय मापदण्डको आधारमा प्रतिदिन प्रतिव्यक्ति ५ सय १७ रुपैयाँका दरले ज्याला उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो ।
‘अहिले देशभर ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ संचालन भएको छ,’ गाउँपालिकाका अध्यक्ष ओलीले भन्नुभयो ‘विभिन्न स्थानीय तहहरुमा कार्यक्रमको बेथीति भयो भन्ने सुनेका छौ तर गुराँस गाउँपालिकाले विगत एक बर्ष अघि देखिनै प्रधानमन्त्री रोजगार कार्यक्रमको अवधारणा जस्तै कार्यदल खटाइसकेका छौ ।’ अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगर्त गुराँस गाउँपालिकाको स्थायी नागरिकको रुपमा रहेका राउटे समुदायका व्यक्तिहरुको नाम बेरोगारमा सुचिकृत गरेर रोजगारी दिएको अध्यक्ष ओलीले बताउनुभयो । गाउँपालिका भित्र हुने विभिन्न विकास निर्माणका काममा राउटे समुदायलाई पनि समावेश गरेर व्यवस्थित ढंगबाट परिचालन गरि कार्यक्रमलाई सफल बनाउने उहाँको दाबी छ ।
राउटे समुदायको क्षेत्रमा काम गर्दै आएको सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापाले राउटे समुदायलाई सबैले वन विनास गर्छन भनेर बुझ्ने गरेकोमा त्यसलाई सकारात्मक चेतना दिनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत राउटेहरुले बृक्षारोपण गर्ने कार्यमा लागेको बताउनुभयो । ‘यस अघि जथाभावी वन विनास हुन्थ्यो, वातावरणिय प्रभाव पाथ्र्यो, उनिहरुलाई नै बृक्षारोपणको कार्यमा संलग्न लगाएपछि राउटे समुदायलाई पनि वन प्रति अपनत्व जाग्नेछ,’ उहाँले भन्नुभयो । यो कार्यक्रमले राउटे समुदायमा वन विनास रोक्नुपर्छ र वन संरक्षणमा जागरण ल्याउन मद्धत पुग्ने उहाँको भनाई छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायका ५२ जनालाई रोजगारी दिएपछि वृक्षरोपणमा सहभागी राउटे समुदाय । तस्बिर ः हिक्मतबहादुर नेपाली

कार्यक्रम अन्तरगर्त गाउँपालिका भित्र आयआर्जनका कार्यहरु भईरहेको रोजगार संयोजक मोहन पौडेलले बताउनुभयो । राउटे समुदायलाई उत्पादनमुखी कार्यमा जोड्नका लागि गाउँपालिकाले रोजगारी दिइएको रोजगार संयोजक पौडेलले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगर्त रोजगार पाएर बृक्षारोपणको कार्यमा लागेको राउटे मुखिया सुर्य नारायण शाहीले भने ‘गाउँपालिकाले हामीलाई रोजगारी दिएको छ, हामी रुख काट्ने मात्र होइन अब रुख पनि रोप्छौ ।’ राउटे युवा कलम शाहीले पहिले रुख काट्थ्यौ, अब रुख पनि रोप्ने बताए । ‘अहिले रुख रोप्यौ भने पछि हामी आफैलाई सजिलो हुन्छ, रोजगारी पाएपछि हामी खुःसी छौ,’ उनले भने । रोजगारी पाएका राउटे युवा मात्र नभई महिलाहरु समेत बृक्षारोपणको कार्यमा खटिएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाको बेतीनी खोला किनारबाट एक महिना अघि दैलेखको गुराँस गाउँपालिका–५ कान्छिबजारमा बस्ती सारेका छन् । राउटे समुदायको जनसंख्या एक सय ४६ छ । उनिहरु कल्याल, रास्कोटी र राजवंशी ठकुरी छन् ।

प्रतिक्रिया