राउटेका हात कलिला विरुवामा (फोटो फिचर सहित)

राउटेका हात कलिला विरुवामा (फोटो फिचर सहित)

ललित बसेल,सुर्खेत, असार २२ गते ।

कर्णाली प्रदेशका पहाडी जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय काठका सामग्री बनाउन प्रायःजसो रुख काट्ने गर्दछन् । रुख काटेर कौसी, मधुस बनाउने उनीहरुको हात यतिबेला भने रुख काट्न नभइ विरुवा रोप्न लगाएका छन् ।सुर्खेतसँग सीमाना जोडिएको दैलेखको गुराँस गाउँपालिका वडा नं. ५ ठाँटीमा रहेका ४६ घरका ५२ जना राउटेहरु यतिबेला विरुवा लगाउन केन्द्रीत छन् । उनीहरुलाई गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विरुवा लगाउन लगाएको हो ।
नौ दिनसम्म राउटेलाई काममा लगाएवापत गाउँपालिकाले प्रतिदिन प्रति राउटे पाँच सय १७ रुपियाँका दरले ज्याला उपलव्ध गराउनेछ । आफ्नो अस्थायी बास भएकै ठाउँमा काम गरेर पैसा पाइने भएपछि राउटेहरु पनि धमाधम काममा जुटेका छन् । शनिवार उनीहरुले ठाँटीमा करिव ५ सय टिम्मुरका विरुवाहरु रोपेका छन् । गाउँपालिकाका रोजगार संयोजक मोहन पौडेलले यही असार १९ गतेदेखि २७ गतेसम्म उनीहरुलाई विरुवा रोप्न र खाडल खन्ने काममा लगाइने जानकारी दिनुभयो ।

गाउँपालिकाका अन्य विकासका काम गर्ने तयारी भइरहेका बेला राउटे समुदायलाई पनि केही काम दिइ विकासमा लगाउनका लागि उनीहरुलाई विरुवा लगाउने काम दिइएको संयोजक पौडेलले बताउनुभयो । राउटेले गरेको कामप्रति खुशी हुँदै अन्य काममा पनि अव राउटेलाई सरिक बनाउने योजना रहेको उहाँको भनाइ छ । जंगलका काठ काटेर जीवन यापन गर्ने राउटेहरु अव विरुवा रोपेर जंगल संरक्षणको सन्देशपनि दिन सफल भएको उहाँले बताउनुभयो । 
राउटे युवा शिवराज शाहीले राउटेले रुख काट्न मात्र होइन विरुवा रोप्न पनि जानेको जनाउनुभयो । उहाँले रुखहरु काट्न नपाइने हुँदा आफूहरुलाई पैसा पाइने यस्तै काम दिन गाउँपालिका तथा संघ संस्थाहरुसँग आग्रह गर्नुभएको छ । उहाँले अव विरुवा लगाएर बन जोगाउन लाग्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

गाउँपालिकासँग राउटेलाई प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि समन्वय गर्ने दैलेखको सामाजिक सेवा केन्द्रले नौ दिनसम्म काम गरेवापत दुई लाख ४१ हजार रुपियाँ राउटेले पाउने जनाएको छ । संस्थाका अध्यक्ष हिरासिंह थापाले राउटेहरुको कूल पूजा नजिक आइरहेकोले उनीहरुले विरुवा लगाउने काम धमाधम गरिरहेको बताउनुभयो । उहाँले आफूहरु बस्ने ठाँटीको खाली भूभागमा विरुवा रोपेकोले काठ काट्ने राउटेहरु पनि विरुवा रोप्न लागेकोमा खुशी प्रकट गर्नुभयो । राउटेहरुलाई टिम्मुरमात्र नभइ अन्य बनस्पतिका विरुवाहरु यो बर्षा याममा रोप्न लगाउने बताउनुभयो ।

राउटेले आफू बस्ने ठाउँमा करिव दुई किलोमीटर गोरेटो बाटो पनि बनाएका छन् । अध्यक्ष थापाले राउटेले खनेको बाटोलाई राउटे पदमार्ग नामाकरण गर्न पहल गरिने आश्वासन दिनुभयो । राउटेहरुले साउन १ गते आफूहरुको कूलपूजा भएकोले त्यस अगाडि नै काम गरेको पैसा उपलव्ध गराइदिन माग गरेका छन् । राउटे मुखिया सुरेन्द्रबहादुर शाहीले पूजा अगाडि नै कुखुरा, बाख्रा खरिद गर्नुपर्ने भएकोले काम गरेको पैसा दिन आग्रह गर्नुभएको छ । गुराँस गाउँपालिका ५ को ठाँटीमा अहिले ४६ घरका १४५ जना राउटेहरु बस्दै आएका छन् ।

टिम्मुरका बेर्नाहरु लगाउँदै राउटे मुखिया सुर्य नारायण शाही .

टिम्मुरका बेर्ना  लगाउनका लागि खाडल खन्दै राउटे 

सुर्खेतसँग सीमाना जोडिएको दैलेखको गुराँस गाउँपालिका ५ को ठाँटीमा टिम्मुरका बेर्ना लगाउँदै राउटे समुदाय

सुर्खेतसँग सीमाना जोडिएको दैलेखको गुराँस गाउँपालिका ५ को ठाँटीमा टिम्मुरका बेर्ना लगाउँदै राउटे समुदाय 

Gorkhapatra.

प्रतिक्रिया