मुद्दामा होस्टाइल हुनेलाई पन्ध्र दिन कैद !

मुद्दामा होस्टाइल हुनेलाई पन्ध्र दिन कैद !


असार २२, २०७६ – दैलेख – आफैले दिएको बहुविवाह मुद्दामा होस्टाइल हुने सुर्खेतकी एक महिलालाई पन्ध्र दिन कैद र दश हजार जरिवाना भएको छ । सुर्खेत जिल्ला गुर्वाकोट नपा–१६ गुमीका २५ वर्षीय दिनेश पुन मगरले दोश्रो विवाह गरेको भनी दिएको मुद्दामा राम्रै नबुझी मुद्दा दिएको भनी मुद्दामा होस्टाइल भएको कसूरमा दैलेख जिल्ला अदालतले आज सो फैसला गरेको हो ।

नुवाकोट माइती भएकी २१ वर्षीया लक्ष्मी राईले जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी जवान पुन माथि आफू माइतीमा बस्दै गरेको बेला गएको पुस ९ गते दैलेखमा बहुविवाह गरेको भन्दै चैत १ गते जिल्ला प्रहरी कार्यालयमा उजूरी गरेकी थिइन । त्यस आधारमा दिनेश पुन माथि बहुविवाह मुद्दा लगाइएको थियो ।

जिल्ला न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट मुलुकी फौजदारी कार्यविधि सहिंता २०७४ को दफा ४४ बमोजिम आफैले दिएको जाहेरीको खण्डन गर्दै रीसिबीले मुद्दा दिएको भन्ने बयान दिएकी जाहेरवाली लक्ष्मी राईलाई पन्ध्र दिन कैद गर्ने र १० हजार क्षतिपूति दिनेश पुनलाई लक्ष्मीले तिर्नुपर्ने फैसला भएको सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिनुभयो ।

दिनेशसंग बहुविवाह गरेको भनिएकी १७ वर्षीया बालिका समेतलाई चैत १ गते गिरफ्तार गरेकोमा अनुसन्धान सकेर चैत २१ गते दैलेख जिल्ला अदालतमा बहुविवाह मुद्दा पेश गरेको थियो । अदालतले आरोपित मध्ये दोश्रो पत्नी हुन आएकी भनिएकी बालिकालाई साधारण तारेखमा छोडेको र दिनेश पुनलाई पुर्पक्षका लागि कारागार थुनामा राखेको थियो ।

फैसलाले आरोपित दिनेश पुन र उनसंग विवाह गरिएकी भनिएकी बालिकालाई सफाइ पाएका छन् । यो मुद्दामा जाहेरवालीको पक्षबाट जिल्ला सरकारी वकील द्रोण पौडेल र आरोपितहरुको तर्फबाट प्रतिरक्षा वकालत अधिवक्ता सुरेन्द्र अधिकारीले गनुभएको थियो ।

प्रतिक्रिया