दुर्गममा विशेषज्ञ सेवा

दुर्गममा विशेषज्ञ सेवा

दैलेख असार २३ ।
दैलेख पश्चिमको आठबिस नगरपालिकाका दुर्गम गाउँका स्थानीय नागरिकले राकमकर्णालीमै निशुल्क विशेषज्ञ सेवा पाएका छन् । आठबिस नगरपालिकाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा यहाँका नागरिकहरुले विशेषज्ञ सेवा लिएका हुन् । आर्थिक अभावले जिल्ला बाहिर उपचार गराउन जान नपाएका यहाँका नागरिकहरुले राकमकर्णालीमै विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य शिविरमा उपचार गराएका छन् ।
स्वास्थ्य चौकी राकमकर्णालीमा भएको स्वास्थ्य शिविरमा यहाँका पाँच सय बढि नागरिकहरुले निशुल्क स्वास्थ्य परिक्षणसँगै औषधी उपचार पाएको आठबिस नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश्वरी शाहीले बताउनुभयो । शिविरमा स्थानीयलाई निशुल्क स्वास्थ्य परिक्षण, औषधी वितरण, भिडियो एक्सरे, गर्भवती जाँच, स्त्री रोग जाँच तथा दन्त परिक्षणको सेवा दिईएको शाहीले जानकारी दिनुभयो ।

शिविरका लागि डा. निरञ्जन पन्त, डा. अनिल खरेल, डा. विवेक कोइराला राकमकर्णाली पुग्नुभएको थियो । शिविरमा आएकाहरु मध्ये महिलाहरुको स्वास्थ्य समस्या बढि देखिएको डा. पन्तले बताउनुभयो । नगर क्षेत्रका जनताको स्वास्थ्यलाई मध्यनजर गर्दैै शिविर संचालन गरिएको आठबिस नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले बताउनुभयो ।

आर्थिक बर्ष २०७५/०७६ को स्वीकृत बार्षिक कार्यक्रम अन्तरगर्त निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुलराज सुवेदीले जानकारी दिनुभयो । विकासका कामलाई मात्रै जोड दिने स्थानीय तहहरुमा जनस्वास्थ्यसंग सम्बन्धित यस्ता कार्यक्रमले सकारात्मक सन्दे दिने उहाँको भनाई छ ।

आफ्नै घर आँगनमै स्वास्थ सेवा पाउँदा स्थानीय नागरिहरु खुसी भएका छन् । शिविरमा दैलेखको आठबिस नगरपालिकासहित छिमेकी जिल्ला अछाम र कालिकोका बिरामी पनि लावान्भित भएका छन् । शिविरबाट आर्थिक अवस्था कमजोर भएका, घरायसी कारणले उपचारमा टाढा जान नसकेका, गरिब, दलित, महिला तथा बालबालिका बढी लाभान्वित भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया