लागूऔषध नियन्त्रण विरुद्धको अभियान पूरा

लागूऔषध नियन्त्रण विरुद्धको अभियान पूरा

सुर्खेत – कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरु गरेको महिलामाथि हुने हिंसा र लागूऔषध नियन्त्रणविरुद्धको अभियान पूरा भएको छ । ३ साता चलेको अभियान १० जिल्लाका ७९ स्थानीय तहका ७ सय १८ वडामा सञ्चालन गरिएको थियो ।सचेतनामूलक र्याली, अन्तर्क्रिया, वक्तृत्वकला र प्रशिक्षणको कार्यमसहित अभियान सम्पन्न गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार वडास्तरमा महिला हिंसा, लागूऔषध दुर्व्यसनी, ओसारपसार र बेचविखनबिरुद्ध विशेष प्रशिक्षण सञ्चालन गरिएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा जेठ २६ बाट अभियान सुरु गरिएको थियो । प्रदेश, जिल्ला र वडा गरी ३ चरणमा अभियान सञ्चालन गरिएको प्रहरी निरीक्षक इन्द्रजित सुनारले जनाए ।

सुर्खेतका ९९ वडामा करिब ६ हजार जनालाई हिंसा र लागूऔषधविरुद्ध प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक प्रदीप क्षत्रीले बताए । अभियानअनुसार दैलेखका ९०, जुम्लाका ७०, कालीकोटका ८२, जाजरकोटका ७७ र हुम्लाका ४४ वडामा प्रशिक्षण दिइएको हो । त्यस्तै रुकुम पश्चिमका ७३, मुगुका ४५, डोल्पाका ६५, सल्यानका ८३ र सुर्खेतका ९९ वडा अभियानअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरिएका थिए ।

डीआईजी महेशविक्रम शाहले अभियानले कर्णालीमा महिलामाथि हुने हिंसा र लागूऔषध नियन्त्रण कम हुने अपेक्षा गरेको बताए । प्रदेश प्रहरी प्रमुख डीआईजी पूर्णचन्द्र जोशीले हिंसा र लागूऔषध नियन्त्रण अभियान सकिएसँगै मदिरा नियन्त्रण अभियान सुरु गर्न लागिएको जानकारी दिए ।

प्रतिक्रिया