कृषकलाई हाते ट्याक्टर

कृषकलाई हाते ट्याक्टर

दैलेख असार २५
दैलेखको नारायण नगरपालिका वडा नंं ३ र यहाँको शतप्रतिशत प्रगतिशील कृषि सहकारी संस्थाले कृषकहरुलाई दुई वटा हाते ट्याक्टर वितरण गरेको छ । नारायण नगरपालिका–३ को दुई वटा कृषक समुहलाई लक्षित गरेर हाते ट्याक्टर वितरण गरिएको नारायण नगरपालिका–३ का वडा सदस्य हर्क बहादुर नेपालीले बताउनुभयो । साउखोला स्थित प्रगतिशिल कृषक समुह र कालिमाटी कृषक समुहलाई एक÷एक वटा हाते ट्याक्टर वितरण गरिएको हो ।
नारायण नगरपालिका–३ को एक लाख र शतप्रतिशत प्रगतिशील कृषि सहकारी संस्थाको एक लाख ४० हजार रुपैयाँको साझेदारीमा कृषकलाई हाते ट्याक्टर वितरण गरिएको हो । कृषकहरुलाई मंगलवार नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल, वडाध्यक्ष चन्द्रप्रसाद उपाध्याय, सहकारी संस्थाका अध्यक्ष बखत बहादुर नेपाली लगाएत वडा सदस्यहरुको उपस्थितीमा हाते ट्याक्टर वितरण गरिएको छ ।
कृषिमा आधुनिकीकरण गर्न कृषकहरुलाई हाते ट्याक्टर वितरण गरिएको सहकारीका अध्यक्ष नेपालीले बताउनुभयो । यसले व्यवसायिक कृषक बढ्नुका साथै उत्पादन पनि बढ्ने विश्वास व्यक्त गर्नुभयो । अधिकांश युवाहरू रोजगारीका क्रममा गाउँबाट हिंडेकाले कामदार समस्या छ । ‘आजभोली गाउँघरमा गोरु र हली पाउन मुस्किल भएको छ,’ ‘हाते ट्याक्टर पाएपछि त्यो समस्या हट्नेछ,’ कालिमाटी कृषक समुहका अध्यक्ष छविलाल थापाले भन्नुभयो ।

प्रतिक्रिया