गुराँस वनस्पती पार्क निर्माण

गुराँस वनस्पती पार्क निर्माण

हिक्मतबहादुर नेपाली
दैलेख असार २९

कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतसँगै सिमा गाँसिएको दैलेखको गुराँस गाउँपालिकामा अधिक मात्रामा गुराँस फुल्ने गर्छ । अहिले यहाँ पाँच प्रकारका गुराँस पाइन्छ । गुराँस फुल्ने समयमा यहाँका थरीथरीका गुराँसले पर्यटकलाई लोभ्याउछँ । गुराँसे क्षेत्रमा पर्यटकको आगमनलाई बढाउन अहिले यहाँ गुराँस वनस्पती पार्क निर्माण कार्य थालिएको छ । गुराँस गाउँपालिका वडा नं. ८ को पञ्चकोशी सामुदायिक वनको नांगो डाँडामा पार्क निर्माण गर्न लागिएको हो ।
गुराँस पकेट क्षेत्रमा गुराँस रोप्ने योजना अनुसार डिभिजन वन कार्यालय दैलेखको चालु आर्थिक बर्षको अनुदानमा पार्क निर्माण कार्य भईरहेको छ ।

तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका–१ बसन्तपुरको चैते सामुदायिक वनबाट २८ प्रजातीको गुराँस ल्याई वृक्षारोपण गरिएको पञ्चकोशी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राम बहादुर ओलीले बताए । गुराँस वनस्पती पार्क निर्माण गरेर पर्यटक भित्¥याउने उदेश्य सहित नेपालकै पहिलो गुराँसकै बोटबाट स्वागतम लेखिएको पार्क निर्माण गर्न लागिएको हो । कुल २.३ हेक्टर क्षेत्रफलमा पार्क निर्माण गर्न वृक्षारोपण गरिएको हो ।
तेह्रथुमबाट ल्याएका र स्थानीय गरि करिब ३५ सय गुराँसका बेर्ना वृक्षारोपण गरिएको उनले बताए । अब यहाँ रातो, निलो, सेतो लगाएतका गुराँस फुल्ने वन उपभोक्ता समितिका अध्यक्ष ओलीले बताए । ‘नांगो डाँडामा गुराँसले हराभरा हुनेछ,’ अध्यक्ष ओलीले भने ‘पार्क भित्र गोलघर, चौतारा बन्नेछ ।’ यो सामुदायिक वनमा समायो, अल्लो, काउलो, टिमुर, बज्रदन्ति लगाएतका ३३ प्रकारका जडिबुटी पहिचान भएको अध्यक्ष ओलीले बताए ।

पाँच लाख ५० हजार रुपैयाँ अनुदानमा वनस्पती पार्क निर्माण भईरहेको डिभिजन वन अधिकृत मुन रावतले बताए । ‘गुराँस पर्यटनको आधार हो, वनस्पती पार्कले गुराँसे वनजंगलको समुचित संरक्षणमा अवश्य सघाउ पुग्नेछ,’ अधिकृत रावतले भने ।

प्रतिक्रिया