नमूना वस्तीमा पहिरोको पीरलो

नमूना वस्तीमा पहिरोको पीरलो

हिक्मतबहादुर नेपाली
दैलेख :
चार बर्षअघि वस्तीमा पहिरो खस्यो। त्यो घटनमा एकै परिवारका तीन जनाको मृत्यु भयो। सदरमुकामस्थित नमुना बादी वस्ती २१ बर्षिया रुपा बादी, अढाई वर्षकी सपना बादी र डेढ महिनाका जितवहादुर बादीले ज्यान गुमाए। त्यसयता नमूना बस्तीका बादी समुदायलाई वर्षेनी पहिरोकै पीरलो हुने गरेको छ।

घटना हुँदा स्थानीय प्रशासन र राजनीतिक दलहरुले नमूना वस्तीलाई सुरक्षित स्थानमा सार्ने प्रतिबद्धता जनाएका थिए। तर हालसम्म यो वस्ती सार्ने काम भएको छैन। जसका कारण यो वस्तीबा बासिन्दा वर्षात सुरु हुने वित्तिकै चयनसँग सुत्न सक्दैनन्। आकाशबाट वर्षात हुनासाथ स्थानीयलाई बस्तीमा पहिरो जाने त्रासले सताउने गर्दछ।

सुरक्षित बस्तीका लागि धेरै नक्साहरु कोरिए, तर कागजमा। त्यसयता तीन वटा निर्वाचनहरु भए, स्थानीय, प्रदेश र प्रतिनीधि सभाका। निर्वाचनताका दलहरु नमूना बस्तीमा प्रत्येक घरदैलोमा पुगेर भोट मागे। ‘सुरक्षित ठाउँमा बसोबास र लालपुर्जा’ उनीहरुको चुनावी नारा नै बनेको थियो। निर्वाचनका बेला उम्मेदवारले स्थायी बास र जीविकोपार्जनको आश्वासन देखाए पनि अहिले फर्केर नहेरेको स्थानीयको गुनासो छ। बस्तीमा पहिरोको त्रास बढ्दै गए पनि स्थानीय सरकार भने आँखा बन्द गरेर बसेको स्थानीय पवित्रा बादीले बताइन् ।

तत्कालिन द्धन्द्धका समयमा दैलेख जिल्लाका विभिन्न स्थानबाट विस्थापित भएर दैलेख सदरमुकामको गणेशचोक नजिकै बसोबास गर्दै आएका नमूना बस्तिका बादी समुदाय हरेक बर्षातमा पहिरोको जोखिम झेल्दै आएका छन् ।

एकै घरका तीन जनाको ज्यान गएपछि त्रसित बनेका नमुना बस्तीका बादी समुदायले पटकपटक स्थानीय सरकार, सांसद र जिल्ला प्रशासन कार्यालयमा पहिरोबाट बस्ती जोगाउन माग गरे पनि बेवास्ता हुँदै आएको गुनासो गरेका छन्। भिरालो स्थानमा बस्ती भएकाले बर्सेनी बादी समुदायलाई पहिरोको त्रास हुने गरेको हो। ‘पानी नपरेको दिनमात्र सुत्ने गरेका छौं’ पवा बादीले भनिन, ‘ठुलो पानी पर्न थाल्यो भने रातभर जाग्राम बस्छौ।’

बस्तीकै कमला बादीले द्वन्द्वको समयमा नमुना बस्तीमा आएर बसेको बताइन। ‘वर्षौं बित्यो सरकारले न लालपुर्जा दियो, न सुरक्षित स्थानमा बस्न दियो,’ उनले भनिन्, ‘अहिले पहिरोको जोखिम बढ्दै गएको छ, सबै निकायलाई यसबारे जानकारी गरायौं। तर कसैले वास्ता गरेनन्।’

गतबर्ष पहिरो जाने डरले यो समुदायका सबै परिवार नारायण नगरपालिका–१ पुरानो बजारस्थित पुरानो कारागार कार्यालयमा एक महिना गुजारेका थिए। त्यस अघिका बर्खामा विभिन्न स्कुल र बन्दै गरेका सरकारी भवनहरुमा बास बस्दै आएका थिए। जनप्रतिनीधि, स्थानीय प्रशासनले नमुना बस्तीलाई स्थानान्तरण गर्न पहल गर्ने बताए पनि हालसम्म यो बस्ती त्यही पहिरोको जोखिमा बसिरहेको छ। यहाँ बादी परिवार र अन्य गरी ६५ घर परिवारको बसोबास छ।

प्रतिक्रिया