छाउगोठमै छन् ‘छोरी बुहारी’

छाउगोठमै छन् ‘छोरी बुहारी’

दैलेख-आँगनको छेउमा राखिएका थाल, कचौरी र लोहोटा । घर भन्दा एक सय मिटर पर बनाइएका छाउगोेठ । त्यहि गोठबाट एका विहानै एक अधबैशे महिला निस्किन्छीन् । घरभित्रकी सासुलाई बोलाउछिन् ‘मलाई पानी हाल्दिनुस्’ । एकछिन पर्ख आँगनतिर हेर्दै ती महिलाले भनिन् । उनको छेउमा पुगेर छुईने डरले अलक्कै पानी हालिन् । ‘यतै बस आँगन तिर नआउँ’ भन्दै उनि फर्कन्छिन् । यो दृष्य दैलेखको गुराँस गाउँपालिका–४ चिसापानीको प्रतिनीधिमुलक घटना मात्र हो ।
यो दृष्य मात्र होइन यहाँको बाल कल्याण प्राविका शिक्षिका इन्द्रा शाही हरेक पटक महिनावारी हुँदा घर भन्दा पर बनाइएका घर (छाउगोठ) बस्छिन् ।

छाउगोठ बस्दा सर्पको डर त छदैछ त्यो भन्दा बढि देउता रिसाउने डर लाग्छ उनलाई । उनले केहि महिना अघि घर परिवारलाई सम्झाइन् पनि । आफैबाट सुरु गर्छु भनेर महिनावारी बार्न समेत छोडीन् । ‘घरमा अनेक समस्याहरु आउन थाले, देउतासंग क्षमा माग्दै बोका पुजा गरे,’ उनले भनिन् ‘अहिले फेरी छाउगोठमा बस्छु ।’ उनिमात्र होइन यहाँकी मौषमी मल्ल पनि महिनावारी हुँदा घरभित्र त के आँगनसम्म पनि आउँन पाउदिनन् । ‘महिनावारी हुँदा म मात्रै होइन यहाँका सबै महिला गोठमा बस्छन, यो परम्परागत देखि चल्दै आएको चलन हो,‘म मात्रै जानु परेको भए अप्ठेरो हुन्थ्यो, नछुने हुँदा यहाँका सबै महिलाहरु छाउगोठमै बस्छन’ उनले भनिन ।
इन्द्रा र मौषमी मात्र होइन यहाँका अधिकाँश महिलाहरु महिनावारी हुँदा छाउगोठमा बस्दै आएका छन् । ‘हामी छाउगोठमा सुत्छौ, हाम्रो घरमा प्रहरी कहिल्यै हेर्न आउँदैन्, कानुन त छ भन्छन् तर सजाय खै कसले पायो, गाउँ गाउँमा छाउगोठ छन् किताबमा मात्रै कानुन भएर हुन्छ र,’ बाल कुमारी नेपालीले भनिन ‘गोठमा बस्दा सर्पको डर, घर भित्र बस्दा देउताको डर, हामी महिलाहरुलाई त जहाँ बसे पनि सुखै छैन् ।’
छाउपडी मान्न महिला मात्र होइन पूरुषहरु पनि उत्तिकै कठोर छन् । यहाँका हर्क बहादुर शाही भन्छन् ‘घरको भित्ता समेत छुनुहुन्न, घरभित्र ल्याएर कसरी राखौ ।’ ‘महिनावारी (नछुने) हुँदा घरसंगै जोडिएको गोठमा समेत बस्न मिल्दैन, शाही भन्छन् ‘देउता रिसाउँछन्, धामी आउँछ, घरमा अनर्थ हुन्छ, सुप्दैन् ।’ गुराँस गाउँपालिका–४ का मानसिंह प्रजापती भन्छन् ‘कानुन पनि मान्नै प¥यो, देउता पनि मान्नै प¥यो, कानुन नमाने कार्बाही होला भन्ने डर, देउता नमाने घरमा अनर्थ होला भन्ने डर, हामी अझै अलमल्लमा छौ ।’ महिनावारी हुँदा छाउगोठमा बस्दा यहाँका महिलाहरुको ज्यान जोखिममा छ । दैलेखका अन्य स्थानीय तहहरुमा परम्परागत सोच र मान्यताका कारण महिलाहरुले अनाहकमै ज्यान गुमाउनु परेको छ ।
गुराँस गाउँपालिका र सोसेक दैलेखको साझेदारीमा संचालित फुलबारी र समावेशी युवा कचहरीका युवायुवतीहरुले छाउपडी विरुद्ध घरदैलो अभियान समेत संचालन गरेका छन् । हामीले यहाँको गुराँस गाउँपालिका वडा नंं ४ चिसापानीका १६ घरमा घरदैलोमा अभियान चलायौ, फुलबारी युवा कचहरीका पम्फा शाहीले भनिन ‘ती मध्ये १४ घरमा छाउगोठ भेट्टायौ ।’ आफुहरुले घरदैलोमा पुगेर छाउपडीबारे कानुनी व्यवस्थाहरु जानकारी गराएको शाहीले बताइन् । ‘घरदैलोका क्रममा अधिकाँस घरमा छाउगोठ भेटियो, कतिपय दिदिबहिनीहरु गाईबस्तु बाध्ने गोठमा सुत्नुहुन्छ, त्यहि छाउगोठको ढोका समेत छैन् ।’
रजस्वला भएका महिलाहरुलाई अलग्गै गोठमा राख्ने चलनले निरन्तरता पाउँदै आएको घरदैलो अभियानमा पुगेकी अभियान्ता सजना सुनारले बताइन् । समाजमा महिलालाई हेर्ने सकारात्मक सोचको विकास नहुनु नै परम्परादेखि चल्दै आएको ‘कु’ प्रथालाई महिलाले नै छाड्न सकेका छैनन्,’ उनले भनिन् ‘परम्परागत सोचमा परिवर्तन आउन नसक्दा दैलेखमा अझै छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ ।’

प्रतिक्रिया