कानुन निर्माण प्रक्रिया सम्बन्धि कार्यशाला गोष्ठी

कानुन निर्माण प्रक्रिया  सम्बन्धि कार्यशाला गोष्ठी

दैलेख साउन ४ गते ।
गुराँस गाउँपालिकाका जनप्रतिनिधि र वडा बालसंरक्षण समितिका पदाधिकारीहरुको लागि बालअधिकार संरक्षणका साथै प्रवद्र्धनका कानुनी व्यवस्था र कानुन निर्माण प्रक्रिया सम्बन्धी कार्यशाला गोष्ठी शनिवारबाट गुराँसेमा सुरु भएको छ ।

स्थानीय तहको नीति, योजना तर्जुमा र संरचनाहरुमा बालमैत्री नीतिको अभावको पहिचान गरी कानुन निर्माण गर्न पहल गर्ने उद्धेश्यले कार्यशाला गोष्ठीको आयोजना गरिएको गाउँपालिका अध्यक्ष खेमराज वलीले बताए ।
पालिकाका सबै जनप्रतिनिधिको लागि सञ्चालन हुने कार्यशाला दुई चरणमा आयोजना गर्न लागिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका कार्यक्रम निर्देशक नवराज विसिको भनाई थियो । प्रथम चरणमा वडा नं १ देखि ४ र दोस्रो चरणमा वडा ५ देखि ८ का जनप्रतिनिधिको लागि सञ्चालन हुने विसीले बताए ।

बालअधिकार र बालबालिका सम्बन्धी अन्तर्राष्ट्रिय व्यवस्थाको बारेमा जानकारीका साथै नेपालमा बालअधिकार प्रवद्र्धनका लागि संवैधानिक तथा नीतिगत व्यवस्थाबारे छलफल भएको छ । त्यस्तै बालबालिका सम्बन्धी ऐन २०७५ मा बालअधिकार संरक्षण तथा प्रवद्र्धनका लागि गरिएका व्यवस्थाबारे छलफल भएको छ ।
राज्यको पुनसंरचनासँगै स्थानीय तहमा कानुन निर्माण प्रक्रिया र कार्यान्वयनमा देखिएका समस्याहरुको परिपूर्ति गर्न कार्यशाला गोष्ठिको आयोजना गरिएको सहायात्रा दोस्रो परियोजनाका बालअधिकार तथा बालसंरक्षण संयोजक निर्मल अधिकारीले बताए ।
उक्त कार्यशाला सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको साझेदारीमा गुराँस गाउपालिकाले आयोजना गरेको हो । कार्यक्रमको सहजीकरण बालअधिकारकर्मी डम्बर रोकायले गरेका छन् ।

प्रतिक्रिया