भत्ता माग्न जाँदा मृत्यू दर्ता !

साउन ४, २०७६ – दैलेख – भगवतीमाई गाउँपालिका–४ जगनाथकी ज्योतीकला खत्री ८२ वर्षकी भइन्, उनका श्रीमान् मनिराम खत्री ८४ वर्षको । उनीहरुले ७० वर्ष उमेर पुगेदेखि नियमित रुपमा जेष्ठ नागरिक भत्ता पाइरहेका थिए । असारको पहिलो साता नै सबैको घरघरै पुगेर गाउँपालिकाका कर्मचारीले हातहातै भत्ता दिए ।

साउन लागिसक्दा पनि आफूहरुलाई भत्ता किन नदिएको भनेर वडा कार्यालय पुगेपछि उहाँहरुलाई भत्ता होइन, अव कहिल्यै भत्ता नपाउने कागज थमाइयो । त्यस्तो कागज थियो ‘दम्पतिको मृत्यू दर्ता !’
मृत्यू दर्ता विवरणमा ज्योतीकला २०७५ चैत्र २५ गते र मनिराम २०७६ बैशाख १० गते मृत्यु भएको व्यहोरा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बुढाले प्रमाणित गरेका छन् । अनलाइनबाट पञ्जिकरण गरिने भएकोले गाउँपालिकाका सूचना प्रविधि अधिकृत देबेन्द्र सिंहले अनलाईन इन्ट्री गरेको खुलेको छ ।
गएको फागुनमा जेष्ठ नागरिक भत्ता खाइवरी जगनाथबाट बर्दियाको बाँसगढी नगरपालिका–९ थमनिया बसाई सराई जान लागेको व्यहोरा खुलाएर गएको चैतमा त्यो दम्पतिले वडाबाट बसाई सराई माग्यो । इन्टरनेटको सुविधा गाउँपालिका कार्यालयमा मात्र भएको कारण बसाई सराई गराईदिन वडा कार्यालयले गाउँपालिकालाई सिफारिस ग¥यो ।
त्यही सिफारिसको आधारमा तर सूचना प्रविधि अधिकृत देबेन्द्र सिंहले बसाई सराई देखाउनुपर्नेमा अनलाईनमा इण्ट्री गर्दा मृत्यू दर्ता जनाएका त्यही बिवरण तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बुढाले कम्प्यूटरमा ‘ओके’ थिचेर प्रमाणित गर्नु भयो । इण्ट्रीमा गल्ती भएको सूचना प्रविधि अधिकृत सिंहले स्वीकारे ।

सूचना प्रविधि अधिकृत सिंहले बसाई सराई भर्नुपर्नेमा अनलाईनमा इण्ट्री गर्दा मृत्यू जनाएको कारण अहिले पञ्जिकरणको अनलाईनमा सम्वन्धित व्यक्ति मरिसकेको जनिएपछि अहिले यो विवरण कसरी सच्याउने भन्ने गाउँपालिकालाई टाउको दुखाईको विषय बनेको छ ।
बसाई सराई दिनुपर्नेलाई मृत्यू दर्ता इण्ट्री कसरी पर्न गयो यसबारे लिखित स्पष्टीकरण मागिएको र यसमा लापरवाही गर्नेहरुलाई कारबाही गर्ने तयारी भएको गाउँपालिका अध्यक्ष दानबहादुर थापाले बताए । खत्री दम्पतिको विवरण सच्याउन केन्द्रीय पञ्जिकरण विभागमा लेखी पठाइएको पनि उहाँले जानकारी दिए ।
चैतमा पेश गरेको बसाई सराईको कागज किन नदिएको ? अनि असारमा पाउनुपर्ने जेष्ठ नागरिक भत्ता नपाएको ? भनेर सोधपुछ गर्दा शुक्रवार मात्र यो कुरा थाहा भएको ज्योतीकलाकी छोरी नानकला अधिकारीले बताइन् ।
तीन छोरी र तीन छोराहरु सबैले विवाह गरी बाहिरै बस्ने गरेको कारण गाउँमा बस्तै आउनुभएको ज्योतीकला र मनिरामलाई जेठो छोरा पदम खत्रीले आफूसंगै बस्ने गरी बर्दिया बोलाएको कारण दम्पतिले बसाई सराई मागेका थिए । त्यो बेला उतै पठाइदिउँला भने तर अहिलेसम्म नपाएपछि बसाई सराई र भत्ता माग्न जाँदा यस्तो भोगिएको नानकलाले जानकारी दिइन् ।
गाउँपालिका अध्यक्ष थापाले विभागबाट विवरण सच्याएर बाँचुञ्जेल नियमित सामाजिक सुरक्षा भत्ता पाइरहने व्यवस्था गरिने र पछिल्लो ४ महिनाको भत्ता बिवरण गल्ती इण्ट्री गर्ने कर्मचारीलाई तिराउने तयारी भएको बताए ।
प्रतिक्रिया