कर्णालीमा रासायनिक मलको खपत कम

कर्णालीमा रासायनिक मलको खपत कम

वीरेन्द्रनगर – सातवटै प्रदेशमध्ये कर्णालीमा सबैभन्दा कम रासायनिक मल खपत भएको एक तथ्यांकले जनाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बुधबार गरेको आव ०७५र७६ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो ।

सबैभन्दा बढी रासायनिक मल प्रदेश २ मा ३१ प्रतिशत भित्रिएको छ । ‘कर्णालीमा रासायनिक मल एकदमै कम भित्रिनु सकारात्मक हो,’ मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले भने, ‘विषादी कहाँ कति प्रयोग भयो भन्नेबारे अध्ययन गर्दैछौं तर, यो तथ्यांक हेर्दा निराश हुनुपर्ने अवस्था छैन ।’ कर्णालीलाई अर्ग्यानिक प्रदेश बनाउने भनेर घोषणा गरेकाले पनि भित्रिने रासायनिक मल अन्य प्रदेशमा पठाइरहेको पण्डितको भनाइ छ । ‘यहाँ आउने मल बाँके, दाङलगायत जिल्लामा जाने गरेको छ,’ उनले भने ।

तथ्यांकअनुसार कर्णालीमा भित्रिएको मल सबैभन्दा बढी सुर्खेतमा खपत भएको छ । मुगु, हुम्ला र डोल्पामा रासायनिक मल नभित्रिएको तथ्यांकले देखाउँछ । प्रवक्ता पण्डितले सुर्खेतमा १ हजार ८ सय ४९, सल्यानमा १ हजार १ सय ७०, दैलेखमा ४ सय ५९, रुकुममा २ सय १३, जाजरकोटमा १ सय ७७, कालिकोटमा ३१ र जुम्लामा दुई टन रासायनिक मल भित्रिएको छ । मन्त्रालयले गत आवमा ८९ कृषि सडक निर्माण गरेको छ । उनका अनुसार अनुसार ५२ कृषि पकेट क्षेत्र निर्धारण गरिएको छ । यस्तै ४५ पशुपक्षी पकेट क्षेत्र बनाइएको छ ।

गत आवमा मन्त्रालयले कुल बजेटको ६८ दशमलव ९२ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयअन्तर्गतका ७ कृषि ज्ञान केन्द्रमध्ये सबैभन्दा कम बजेट ज्ञान केन्द्र जुम्लाले गरेको छ । कान्तिपुर

प्रतिक्रिया