कर्णालीका ४० पर्यटकीय गन्तव्य तय

कर्णालीका ४० पर्यटकीय गन्तव्य तय

दैलेखको पर्यटकीय गन्तव्यमा राकमकर्णाली र पञ्चकोशी सर्किट

साउन १९, सुर्खेत – कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयले प्रदेश सरकारका ४० ओटा पर्यटकीय गन्तव्य सार्वजनिक गरेको छ ।शनिवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी कर्णालीमा पर्यटकको आकर्षण बढाउनका लागि प्रादेशिक पर्यटन प्रवृद्धन समिति गठन भएको छ ।

समितिको सचिवालय संयोजकमा राजु कार्की चयन भएको बताइएको छ । समितिमा दिलबहादुर महत, देवराज जैशी, देविकृष्ण रोकाया र सदस्य सचिवमा मन्त्रालयका सचिव धिरेन्द्रकुमार प्रधान रहेका छन् ।

कार्यालय काठमाडौंमा खोलिने तथा लंकबहादुर शाही, जनकराज शर्मा र छेवाङ लामा सम्पर्क व्यक्तिको रुपमा तोकिएको मन्त्री नन्दसिंह बुढाले जानकारी दिए । ‘नेपाल सरकारको २० लाख पर्यटक भित्र्याउने योजनालाई सफल बनाउन हामीले कर्णालीका ४० वटा पर्यटकीय गन्तव्यलाई छानेका हौं,’ मन्त्री बुढाले भने, ‘प्रदेशभर एक सय एक क्षेत्र भएपनि अहिले सबै स्थानमा विकास गर्न नसकिने भएका कारण हामीले यी क्षेत्र चयन गरेका हौं ।’

नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी रुपमा सञ्चालन गर्न देवराज जैशीको संयोजकत्वमा प्रचारप्रसार विभाग गठन गरिएको छ । जनकराज शर्मालाई होटल ट्राभल तथा ट्रेकिङ व्यवस्थापन विभाग, देवीकृष्ण रोकायालाई मानव संशाधन विभाग, लंकबहादुर शाहीलाई आर्थिक विभाग दिलबहादुर महतलाई पर्यटकीय उत्पादन तथा सांस्कृतिक विभागको जिम्मा दिइएको मन्त्री बुढाले जानकारी दिए ।मन्त्री बुढाका अनुसार मन्त्रालयले ५ जना ख्यातीप्राप्त व्यक्तिलाई कर्णालीको साथीको रुपमा ‘गूड वेल एम्बास्डर’ चयन गरिने छ ।

कार्यक्रम सञ्चालनका लागि संघीय सरकारबाट बजेट आउने र नपुग भएको खण्डमा प्रदेश सरकारबाटै उपलब्ध गराउने गरी अघि बढिएको मन्त्री बुढाले बताए । ‘बढीभन्दा बढी पर्यटक कर्णालीमा ल्याउने हाम्रो योजना हो,’ मन्त्री बुढाले भने, ‘त्यसका लागि यो समितिले विभिन्न अभियान सञ्चालन गर्नेछ ।’

मन्त्रालयका सचिव धीरेन्द्रकुमार प्रधानले १० वटै जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । ‘हुम्लाको लिमी भ्याली, रेलिङ बाराडेउ, दुधेदह, खार्पुनाथ सिमीकोट, मुगुको रारा क्षेत्र, छायानाथ, जुम्लाको चन्दननाथ गुठीचौर पातारासी र सिंजा भ्याली, ालिकोटको पचाल झरना, चुलीमालिका, कोट दरबार पञ्चा दरबारलाई पर्यटकीय गन्तव्यमा समेटेका छौं,’ उनले भने, ‘दैलेखको राकम कर्णाली र पञ्चकोशी सर्किट, सुर्खेतको काँक्रेविहार, बुलबुले ताल, पञ्चपुरी सर्किट र विद्यापुर, सल्यानको कुपिण्डे ताल, छायाक्षेत्र, खैराबाङ मन्दिर, रुकुम पश्चिमको सिस्ने हिमाल, सर्फु ताल, मुसीकोट दरबार र डिग्रे मन्दिर, जाजरकोटको भेरी नदि, नादाइ गढ कुशे ठाकुर जीका गढ र डोल्पाको अप्पर डोल्पा, से फोक्सुण्डो, गुम्बा,भिजेर, धो ताराप र त्रिपुरासुन्दरी, छलामष्टा तथा दुनै समेटेका छौं ।’सरकारले भदौ २५ गते माथिल्लो डोल्पामा महोत्सव आयोजना गरिने निर्णय भएको संयोजक राजु कार्कीले जानकारी दिए ।

प्रतिक्रिया