खेर गएको दूधबाट छुर्पी

खेर गएको दूधबाट छुर्पी

हिक्मतबहादुर नेपाली
दैलेख साउन २० – खेर गएको दूधबाट छुर्पी उत्पादन गर्न थालिएको छ। दूधबाट छुर्पी बनाउन थालेपछि किसानको आम्दानी पनि बढ्दै गएको छ। भैरबी गाउँपालिका–५ कुसापानीका ४० वर्षीय विष्णुमाया कँडेलले छुर्पी बनाउन थालेपछि दूध बिक्रीको चिन्तामुक्त भएको बताइन्।

दैलेख साउन २० : खेर गएको दूधबाट छुर्पी उत्पादन गर्न थालिएको छ। दूधबाट छुर्पी बनाउन थालेपछि किसानको आम्दानी पनि बढ्दै गएको छ। भैरबी गाउँपालिका–५ कुसापानीका ४० वर्षीय विष्णुमाया कँडेलले छुर्पी बनाउन थालेपछि दूध बिक्रीको चिन्तामुक्त भएको बताइन्।

‘घरमा प्रसस्त दूध उत्पादन हुन्थ्यो तर बजार नपाउँदा दूध खेर जाने चिन्ता थियो’ उनले भनिन्, ‘छुर्पी बनाउन नथाल्दा छरछिमेकीलाई दूध बाँडेर सकायौं तर अहिले छुर्पीले खेर गएको दूध प्रयोगमा आएको छ।’ उनी जस्तै यहाँका ५० भन्दाबढी दुग्ध कृषक यसअघि दूध बिक्रीका लागि बजारक्षेत्र नजिक नहुँदा चिन्तित थिए। अहिले दूध डेरी सञ्चालन भएको छ। भने कृषकलाई बजारीकरणको चिन्ता छैन।

गत वर्ष २१ लाखको दूध खरिद गरेका उद्यमी मोहन पौडेलले यो वर्ष ३१ लाखको खरिद गर्ने योजना बनाएका छन्। छुर्पी उद्योगमा उनले चार जनालाई रोजगारी संकेत दिएका छन्। दूध उमाल्ने, फटाउने, छान्ने, मेसिनमा पेल्ने, क्रिम काट्ने, आगोमा सुकाउने, काटेर टुक्रा पार्नेलगायत काममा कामदारलाई रोजगारी दिएका हुन्। उनका अनुसार उद्योगमा दुग्धजन्य धेरै परिकारसमेत बन्ने गरेका छन्। यहाँ उत्पादित छुर्पी प्रतिकिलो आठ सय, घिउ छ सय, आइसक्रिम एक हजार र खुवा नौ सय मूल्यमा बिक्री हुन्छ। अहिले जिल्लाभित्र र जिल्ला बाहिरबाट उद्योगमा छुर्पी बनाउन सिक्न आउनेको संख्या बढ्दै गएको उनले बताए। गत असार महिनामा मात्र हुम्लाका १४ जना किसानले उद्योगमा आएर छुर्पी बनाउन सिकेका थिए।

गाउँकै उद्योगमा छुर्पी बन्न थालेपछि यहाँ उत्पादित दूधले बजार नपाएर खेर जाला भन्ने चिन्ता हटेको स्थानीय दिपप्रसाद पौडेलको भनाइ छ। उनका अनुसार छुर्पी उद्योगपछि सबै दुग्ध किसानको आम्दानी बढेको छ। दूध बिक्री गरेर प्रतिकृषकले सरदरमा मासिक २० हजारसम्म कमाउने गरेका छन्। दूधबाट आम्दानी भएको रकमले घर खर्च चलाएर बचतसमेत गर्न पुगेको हो। यसअघि घरखर्च जुटाउन भारत जाने गरेका स्थानीय गाउँमै दुग्ध पशुपालन गर्न थालेका छन्।

प्रतिक्रिया