पहिरोको डरले उठिबास

पहिरोको डरले उठिबास

दैलेख साउन २१ गते ।
बस्तीमाथिबाट पहिरोको जोखिम बढेपछि दैलेखको गुराँस गाउँपालिका–२ बान्द्रे स्थित पुडेनीका १३ परिवार घर छोडेर त्रिपालमा सरेका छन् । साउन ७ गते राति वर्षासँगै आएको पहिरोमा परी एक घर पूर्ण रुपमा बगाएको थियो भने अन्य घर उच्च जोखिममा परेका थिए । अहिले यहाँका स्थानीयहरु घरमा ताल्चा ठोकेर बस्ती भन्दा तीन सय मिटर पर त्रिपालमुनी दिनचर्या काटिरहेका छन् । गाउँपालिकाले त्रिपाल दिएर सुरक्षित स्थानमा बसालेको हो ।

गाउँका १३ घरपरिवारका ७० जना विस्थापित भएका छन् भने २४ घर जोखिममा छन् । २८ बर्षिया लालमती सुनारले भनिन ‘श्रीमान भारतमा छन्, तीन छोरी र एक छोरासँगै बस्दै आएको घर पहिरोले बगायो ।’ दुई बर्ष अघि बनाएको घर ऋण तिरेर नसक्दै पहिरोले बगाएको उनले बताइन् । उनको लत्ताकपडा, खाद्यान्न, नागरिकता लगाएतका काजगात सहित नगद ६० हजार रुपैयाँ पहिरोले बगाएको छ ।

साउन ७ गते आएको अबिरल बर्षात पछिको पहिरोले उनको घर पूर्ण रुपमा बगाएको थियो । अछामको रपमा विवाह गरी गएकी लालमती माइतीको जग्गामा घर बनाएर बसेकी थिइन् । ‘माइतीको मेरो नाममा पास गरिदिएको जग्गामा हालेको घरपनि बगायो अब कहाँ जाउँ,’ उनले भनिन ‘घर पहिरोले लगेपनि आफुभने धन्न बाँचियो ।’
एक बर्ष अघि मात्रै घर बनाएकी ६६ बर्षिया गोल्मा वलीको व्यथा पनि उस्तै छ । घर हाल्दा लागेको ऋण तिरेकै छैैन, घरछेउमै पहिरो गएको छ, फर्किएर त्यहि बसौला भनेर आश नै मरिसक्यो ।’ ६६ बर्षिया धनसरा विकले आजसम्म यस्तो विपत्ती कहिल्यै नआएको सुनाइन् । ‘खेतीयोग्य जमिन पहिरोले लग्यो,’ उनले भनिन । ‘घर छाडेर त्रिपालमा बस्दै आएका छौँ,’ अर्का पीडित धिर्ज बहादुर विकले भने ‘फलफुल खेती पनि पहिरोले बगायो ।’ गाउँपालिकाले दुई बर्ष अघि निर्माण गरेको कच्ची सडकका कारण पहिरो गएको स्थानीय जगत वलीले बताए ।

गुराँस गौरबको आयोजना सडक र त्यसका सहायक मार्गको भल पुडेनी गाउँमा पस्दा यस्तो विपत्ती आएको उनको भनाई छ ।
‘सिंगो गाउँ नै खहरे खोलामा परिणत भएको छ,’ ओलीले भने ‘स्थानीय सरकारले जथाभावी निर्माण गरेका अधिकांश कच्ची सडकका कारण पहिरो गएको हो ।’ स्थानीय तहमा टोल–टोलमा सडक पु¥याउन उपभोक्ता समितिले डोजर मार्फत खनिएका अधिकांश सडकले पहिरो निम्त्याएको हो । बस्तीमा करिब पाँच सय मिटर माथिबाट पहिरो गएको थियो । गाउँमा बसोबास गर्न योग्न नभएको इन्जिनियर हीरासिंह थापाले बताए । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका अध्यक्ष समेत रहेका थापाले भने ‘पहिरोले गाउँकै उठिबास भएका कारण महिला र बालबालिका उच्च जोखिममा छन् ।’ हाल पहिरोले बस्ती घेरिएको छ ।

प्रतिक्रिया