हावाहुरी प्रभावित ८६९ परिवारले पाए घर

हावाहुरी प्रभावित ८६९ परिवारले पाए घर

वीरगञ्ज । बारा र पर्साका ८ सय ६९ हावाहुरी (टोर्नाडो) प्रभावित परिवारले घर पाएका छन् । नेपाली सेनाले बनाइदिएको घर बुधबार हस्तान्तरण गरिएको हो ।वीरगञ्जमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई नमूना घर हस्तान्तरण गरे । लगत्तै  पोखरेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र राउतले सम्बन्धित स्थानीय सरकार प्रमुखलाई  नमूना घर हस्तान्तरण गरेका हुन् ।

नेपाली सेनाको जनता आवास निर्माण कार्यदलका कमाण्डर विनयविक्रम राणाका अनुसार ०७५ चैत १७ गते आएको हावाहुरीबाट प्रभावितहरू नयाँ घरमा बस्न थालिसकेका छन् ।सेनाले वर्षायामअघि नै घर निर्माण सक्ने लक्ष्य राखेको थियो । तर अविरल वर्षा, निर्माण सामग्रीको अभाव र विवादित घरहरुका कारण काम केही ढिला भएको बताएको छ ।

प्रमाणीकरणपछि घटे लाभग्राही

नेपाल सरकारले नेपाली सेनालाई पुनर्निर्माणको जिम्मा दिएपछि नेपाली सेनाले पर्सा र बारामा १२ वटा क्लस्टर बनाएर काम सुरु गरेको थियो । जग खन्ने, छानोसम्म ब्लक लगाएर झ्याल ढोका हाल्ने, ट्रस जडान गरेर छानो हाल्ने र घरको फिनिसिङ गरेर घर निर्माण सम्पन्न गर्ने गरी चार चरणमा सेनाले काम गरेको थियो ।

प्रभावितका लागि २ वटा कोठा, एउटा शौचालय, सानो भान्साकोठा र बरण्डा भएको ३४८.६ वर्गफिटको आकर्षक घर निर्माण भएको छ । जग्गा नपुग हुनेलाई विभिन्न ५ डिजाइनका घर बनाइएको र जग्गा नभएकालाई स्थानीय सरकारसँग समन्वय गरेर घर निर्माण गरिएको नेपाली सेनाले जनाएको छ ।

सुरुमा ५ सय घर पूर्ण क्षति भएको अनुमान गरी वर्षायाम अगावै निर्माण गरिदिने गरी नेपाली सेनालाई जिम्मा लगाए पनि पछि एक हजार ४५३ घर पूर्ण क्षति भएको विवरण आएको थियो । ०७६ साउन २६ गतेसम्म तीन चरणमा एक हजार ४५३ वटै घर निर्माण गर्ने योजनाअनुसार तयारी गरिएको थियो ।

०७५ चैत २१ गते बसेको मन्त्रिपरिषद् बैठकले हावाहुरीबाट क्षति भएका घर पुनर्निर्माण गर्न सेनालाई जिम्मा दिएको थियो ।तर, वास्तविक पीडित छुटेको गुनासो आएपछि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले छानबिन गरेको थियो । सबै क्लस्टरमा क्षति भएको घर पुनः प्रमाणीकरण गर्दा ४८ प्रतिशत घर संख्या घटेको नेपाली सेनाले जनाएको छ ।दर्ता छुट भएका प्रभावितको निवेदन संकलन, स्थानीय जनप्रतिनिधि, क्लस्टर कमाण्डर र स्थानीय प्रहरी प्रमुखको टोलीले प्रमाणीकरण गर्दा २०२ जना वास्तविक पीडित छुटेका हुन् ।

विनियोजित रकममा ५३ प्रतिशत बचत

घर निर्माण गर्दा विनियोजित रकममा ५३.८३ प्रतिशत बचत भएको नेपाली सेनाले जनाएको छ । विभिन्न जनहितको कार्यसमेत समावेश गरी सुरुमा विनियोजित रकमबाट आधा खर्चमा काम पूरा भएको दावी उसले गरेको छ ।

नेपाली सेनाको निर्माण कार्यदलले दिएको जानकारी अनुसार सेनालाई १४ सय ५३ घर बनाउन सरकारले ८२ करोड १८ लाख ९० हजार ३४३ रुपैयाँ निकासा गरेको थियो । तर, ८६९ वटा मात्रै घर निर्माण गरिएपपछि रकम बचत भएको हो ।

घर निर्माणमा ४४ करोड २४ लाख ५५ हजार ८ सय ९६ रुपैयाँ खर्च हुने देखिएको कार्यदलका कमाण्डर विनयबिक्रम राणाले बताए । मन्त्रिपरिषद्ले एउटा घर निर्माण गर्न ५ लाख ४५ हजार ९८५ रुपैयाँ ८८ पैसा छुट्याए पनि ४ लाख ८४ हजार ८८८ रुपैयाँ लागेको उनले बताए ।

प्रतिक्रिया