त्रिपालमुनी सकस

त्रिपालमुनी सकस

हिक्मतबहादुर नेपाली
दैलेख भदाै २४ –
गुराँस गाउँपालिका–२ का लालमती सुनारलाई काखे छोरा कसरी हुर्काउने भन्ने चिन्ता छ । तीन सन्तान हुर्काएकी लालमतीलाई पहिरोले काखे छोरा हुर्काउन थप सकस बनायो । त्रिपालमुनी दिन बिताउँदै आएकी लालमतीलाई छोरालाई कसरी चिसोबाट जोगाउने भन्ने अर्को चिन्ता छ । ‘त्रिपालमुनी बसेका छौ, चिसो छ, आफु त जसो तसो थेगिएता बच्चालाई जोगाउनै मुस्किल,’ उनले भनिन् । ‘चार सन्तान सहित अस्थायी त्रिपालमा रेडक्रसले दिएको पातलो बल्यांकेट भुइँमै ओछ्याएर सुत्छौ,’ उनले भनिन् ‘भुइँको चिसोले सुत्नै गाह्रो हुन्छ ।’ छोरालाई चिसोले निमोनिया हुने डरले उनि घाम लागेपछि दिनभर बाहिरै बस्छिन् । ‘साँझ पर्दानपर्दैै रात कहिले बित्ला र घाम लाग्ला जस्तो हुन्छ,’ उनले भनिन् । उनको दुई बर्ष अघि बनाएको घर ऋण तिरेर नसक्दै पहिरोले बगाएको थियो । डेढ महिना अधिको घटना सम्झँदा उनि अहिले पनि झस्किन्छिन् ।
उनका छिमेकी गोल्मा ओलीको व्यथा पनि उस्तै छ । त्रिपाल बारेर उनि टहरामा बस्छिन् । ‘घर हाल्दा लागेको ऋण तिर्न सकेको थिइन्, घरको आगनमै पहिरो गएको छ,’ उनले भनिन् ‘फर्किएर त्यहि बसौला भनेर आश नै मरिसक्यो ।’ ‘तीज पनि त्रिपालमुनी बित्यो, दशै पनि त्रिपालमुनी नै जाने भयो, चार्डपर्व पनि नआएको भए हुन्थ्यो जस्तो लाग्छ,’ उनले भनिन् । अर्का पीडित धिर्ज बहादुर विकले भने ‘पहिरोले बस्ती नै चिरिएको छ, गाउँनै घेरिएको छ, गाउँभरी सग्लो जमिन भेट्टाउनै मुस्किल पर्छ । गाउँ वरपर चारवटा ठुल्ठुला खहेरे खोला बनेका छन्, घर छेउ जान पनि डर लाग्छ ।’
गत साउन ७ गते आएको अबिरल बर्षात पछिको पहिरोले बस्ती नै जोखिममा परेर दुःख भोग्दै आएका पीडितहरुलाई त्रिपालमुनीको बास सकसपूर्ण छ । हरेकजसो घरमा बृद्धबृद्धा र बालबालिका छन् । बाल बालिकालाई चिसोले झनै सास्ती दिएको छ । ज्वरो आउने, रुघाखोकीबाट बालबालिका ग्रसित छन् । पहिरोले गाउँकै उठिबास भएपछि महिला र बालबालिका र बृद्धबृद्धा जोखिममा छन् ।
गाउँको माथिल्लो भागमा ठुलो ढुंगा आएर अडिएको छ । कतिबेला बस्तीमा खस्ने हो ठेगान छैन् । डेढ महिना अघि पहिरोको पीडाले थलिएको गुराँस गाउँपालिका–२ बान्द्रे स्थित पुडेनी गाउँ अझै उठ्न सकेको छैन् । गाउँका १३ घरपरिवारका ७० जना विस्थापित भएका थिए । उनिहरु अहिले पनि त्रिपालमुनी बसोबास गरिरहेका छन् । पहिरोका कारण क्षति पनि धेरै भएको छ । सिंगो गाउँ नै खहरे खोलामा परिणत भएको छ । अहिले यहाँका स्थानीयहरु घरमा ताल्चा ठोकेर बस्ती भन्दा तीन सय मिटर पर त्रिपालमुनी दिनचर्या काटिरहेका छन् । गाउँपालिकाले दुई बर्ष अघि निर्माण गरेको कच्ची सडकका कारण पहिरो गएको स्थानीय जगत ओलीले बताए । गुराँस गौरबको आयोजना सडक र त्यसका सहायक मार्गको भल पुडेनी गाउँमा पस्दा यस्तो विपत्ती निम्तिएको हो ।

प्रतिक्रिया