विपन्न महिलालाई बाख्रा

विपन्न महिलालाई बाख्रा

दैलेख भदौ ३१ ।
दैलेखको आठबिस नगरपालिका र अछामको पञ्चदेवल विनायक नगरपालिकाका महिला यतिबेला बाख्रा पालन व्यवसाय तर्फ उन्मुख हुन थालेका छन् । परम्परागत रुपमा खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका यहाँका महिलाका लागि अहिले व्यवसायिक बाख्रापालन रोजाईको व्यवसाय बन्न थालेको छ ।
बाख्रापालनबाट मनग्य आम्दानी हुने भएपछि विभिन्न समुहमा आबद्ध भएका महिलाहरु व्यवसायमा लागेका हुन् । यहाँका विपन्न महिलालाई डिसिएको सहयोगमा सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेखद्वारा सञ्चालित गिफ्ट परियोजनाले बाख्रा वितरण गरेपछि उनीहरू बाख्रापालन व्यवसाय गर्न थालेका हुन् ।
जीविका गुजार्न मुस्किल परेका बेला बाख्रा उपहार कार्यक्रम आएपछि व्यावसायिक रूपमा बाख्रापालन गर्न आफूहरूमा उत्साह आएको रानीकोट बाख्रा पालन समुहकी चन्द्रदेवी कामी बताउँछिन् । हामी जस्ता गरिब महिलाहरुका लागि बाख्रा पालन व्यवसाय बरदान सावित हुने आली बाख्रा पालन समुहकी अम्बी भुलले बताइन् । गरिबी एवं विपन्न परिवारको जीवनस्तर उकास्नका लागि सञ्चालन गरिएको यस्ता कार्यक्रमले आफूहरूलाई ठूलो सहयोग भएको भुल बताउँछिन् ।
परियोजना मार्फत बाख्रापालन व्यवसायमा दैलेखको आठबिस नगरपालिका र अछामको पञ्चदेवल विनायक नगरपालिकाका ८४ घरपरिवारका विपन्न महिलाहरूले प्रत्यक्ष लाभ लिएका छनन् ।

विपन्न, एकल, अपाङ्गता भएका र विपन्न दलित महिलाहरुलाई बाख्रा वितरण गरिएको छ । आर्थिक रुपमा विपन्न यहाँका महिलाहरुको जीविकोपार्जनका लागि बाख्रा वितरण गरिएको हो । चुलो र चौकामा मात्र सिमित यहाँका विपन्न महिलाहरुको आर्थिक उन्नतीका लागि बाख्रापान व्यवसाय सहज हुने भएकोले बाख्रा वितरण गरिएको परियोजनाका संयोजक माधव भट्टराईले जानकारी दिए ।
आठबीस नगरपालिकाका एचआइभी संक्रमित ६ जना, २ जना अपाङ्गगता भएका र विपन्न दलित महिला १४ गरि २२ जनालाई बाख्रा वितरण गरिएको संयोजक भट्टराईले बताए ।

उनका अनुसार अछामको पञ्चदेवल विनायक नगरपालिकाका एचआइभी संक्रमित ४ जना, अपाङ्गगता भएका दुई, दलित विपन्न १६ जना र अन्य विपन्न समुदायका ३२ जना गरि ६२ जना महिलालाई बाख्रा दिइएको हो । उनिहरुलाई बाख्रा पालन तामिल प्रदान गरिएको छ भने बाख्राको विमा समेत गरिएको छ ।

प्रतिक्रिया