५६७ लिटर मदिरा नष्ट

५६७ लिटर मदिरा नष्ट

दैलेख असाेज ५ । दैलेख प्रहरीले चार्डपर्वमा झैझगडा तथा घरेलु हिंसाका प्रमुख कारण मानिने मदिरा नियन्त्रण तीव्र पारेको छ । प्रशासन र प्रहरी कार्यालयले एकिकृत रुपमा मदिरा नियन्त्रण र बजार अनुगमन तीव्र पारेका हुन् । सहायक सीडियो इन्द्रबहादुर क्षेत्री र इन्सपेक्टर उपेन्द्रप्रसाद आचार्यको टोलीले जिल्लाका मुख्य व्यापारिक केन्द्रमा बजार अनुगमनसँगै घरेलु मदिरा नियन्त्रण अभियान चलाएको हो । भगवतीमाई गाउँपालिकाको वेस्तडा बजार र दैलेख सदरमुकाममा फेला परेको पाँच सय ६७ लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिएको छ । घरेलु मदिरा उत्पादनका लागि प्रयोग हुने ३३ केजी औषधी र कच्चा पदार्थ नष्ट गरिएको इन्सपेक्टर उपेन्द्रप्रसाद आचार्यले बताए ।
चाडवार्ड नजिकिँदै गर्दा महँगी र अनियमितता रोक्न बजार अनुगमन गरेको गरिएको सहायक सीडियो इन्द्रबहादुर क्षेत्री बताउँछन् । बजार अनुगमनका क्रममा दुई बर्ष अघि नै म्याद सकिएका अखाद्य बस्तु फेला परेको उनले बताए । विभिन्न बजारहरुमा गरिएका अनुगमनमा क्रममा भेटिएका अखाद्य बस्तु नष्ट गरिएको छ । अनुगमनका क्रममा म्याद नाघेका र लेबल नभएका चिसो पेय पदार्थ बिक्री भईरहेको पाईएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले उपभोक्ता ठग्ने, कम गुणस्तर भएको सामान बेच्ने अखाद्य बस्तु बेच्ने जस्ता गतिविधि हुन नदिन बजार अनुगमन थालिएको बताए । उनले यस्ता गतिविधि पुन भएको पाइए कानुनी कारबाही गर्न निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय र प्रहरीले बजार अनुगमनसँगै मदिरा नियन्त्रण अभियान सञ्चालन गरेको भएपनि दैलेखका स्थानीय तह बजार अनुगमनमा उदासिन देखिएका छन् । स्थानीय सरकार सञ्चालन ऐनले बजार अनुगमनको जिम्मा स्थानीय सरकारलाई नै दिएको छ । तर जिल्लाका स्थानीय तहमा बजार अनुगमन समितिहरु भने निष्क्रिय बनेका छन् । स्थानीय तहमा अनुगमन समिति समेत बन्न नसकेको पाईएको छ । समिति गठन र कार्यविधि निर्माण नहुँदा अनुगमन गर्न नसकिएको जनप्रतिनीधि बताउँछन् ।

प्रतिक्रिया