सामूहिक बलात्कारको आरोपमा ४ पक्राउ

सामूहिक बलात्कारको आरोपमा ४ पक्राउ

विराटनगर असाेज ५- एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा आइतबार बिहान ४ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका–५ का २० वर्षीय सुरेश थानदार, २५ वर्षीय कमल पुरी, बेलबारी–५ का २२ वर्षीय सन्तोषकुमार माझी र २२ वर्षीय प्रकाशकुमार थारु भएको जिल्ला प्रहरी कार्यालय मोरंङले जनाएको छ ।

प्रहरीले आइतबार अपरान्ह पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गरेको छ । उनीहरुले ग्रामथान गाउँपालिका–७ स्थित केरा घारीमा शनिबार राति साढे ९ बजे ती किशोरीलाई झुक्याएर लागि बलात्कार गरेको मोरङ प्रहरीका प्रमुख (एसपी) विश्व अधिकारीले जानकारी दिए । ती पीडित किशोरी सुन्दर हरैंचा नगरकी हुन् ।

‘चिनेका एक जनाले किशोरीलाई गफ गर्नुछ भन्दै केरा घारीमा लगेर बलात्कार गरे, पछि अन्य तीन जना पनि यो अपराधमा सामेल भए,’ एसपी अधिकारीले भने,‘किशोरीको शारीरिक एवं मानसिक अवस्था चिन्ताजनक छ ।’ एसपी अधिकारीका अनुसार पीडित पक्षले राति १ बजे खबर गर्नासाथ ईलाका प्रहरी कार्यालय हरैंचाबाट खटिएको टोलीले बिहान नहुँदै आरोपीहरुलाई पक्राउ गरेको थियो । यसअघि बसभित्र १५ बर्षीय बालिकालाई बलात्कार गर्ने मोरंङ रंगेली–३ का बस चालक ३७ वर्षीय किरण खड्का र उर्लाबारी–४ का सहचालक १९ वर्षीय सन्तोष न्यौपानेलाई २२ भदौको मध्यराति प्रहरीले पक्राउ गरेको थियो । धनकुटा घर भएकी ती बालिका आफन्तको घरमा बस्दै आएकी थिइन् । भदौमा बलत्कारका १० र बलत्कार प्रयासका ६ मुद्दा दर्ता भएको एसपी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया