कर्णालीमा बस्दैनन् बिशेषज्ञ चिकित्सक

कर्णालीमा बस्दैनन्  बिशेषज्ञ चिकित्सक

सुर्खेत असोज ७ गते । पूर्वी सुर्खेतस्थित मेहेलकुनामा ५० शैयाको अस्पताल छ । अस्पतालको स्तरोन्नतिपछि यहाँ नौजना विशेषज्ञ चिकित्सकको दरबन्दी कायम गरियो, तर विडम्बना यो अस्पताल विशेषज्ञ चिकित्सक विहीन छ । अहिले यहाँ चिकित्सकले मात्र सेवा दिइरहेका छन् । यस्तै नौजना विशेषज्ञ चिकित्सक रहेको जिल्ला अस्पताल जाजरकोटमा पनि दरबन्दी रिक्त छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्ररनगरस्थित प्रदेश अस्पतालमा २६ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ, तर हाल यहाँ ६ जना मात्र विशेषज्ञ चिकित्सक कार्यरत छन् ।
यसरी हेर्दा कर्णालीका एउटा विशेषज्ञ चिकित्सकले करिब दुई लाख ९४ हजार नौ सय ६३ जना बिरामीलाई हेर्नुपर्ने अवस्था छ । यहाँ विशेषज्ञ चिकित्सकको दरबन्दी पूरा भए पनि एउटाले ३४ हजार ३४ जना बिरामीलाई उपचार गर्नुपर्ने बाध्यता हुन्छ । विशेषज्ञ चिकित्सक नहुँदा गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट आफूहरू वञ्चित भएको कर्णालीवासीको गुनासो छ । हाल कर्णालीमा १७ लाख ६९ हजार सात सय ८० जनसंख्या छ ।
यति मात्र होइन, कर्णालीका अधिकांश अस्पताल विशेषज्ञ चिकित्सकविहीन छन् । एकजना दक्ष चिकित्सक रहेका जिल्ला अस्पतालहरूमा चिकित्सकले मात्र उपचार गरिरहेका छन् । दरबन्दीअनुसार कर्णालीका अस्पतालहरूमा विशेषज्ञ चिकित्सक नहुँदा उपचार प्रभावित भएको छ, जसले गर्दा यहाँका बिरामी जटिलखालको उपचार पाउन नेपालगन्ज, बुटवल, चितवन, काठमाडौंलगायतका सुविधा सम्पन्न अस्पतालमा जान बाध्य छन् ।
जिल्लामा त्यस्तो उपचार नहुँदा महँगो र लामो जोखिमपूर्ण यात्रा गरेर उपचार लिने गरेको सुर्खेतकी तुलसी लामिछानेले बताइन् । उनी नसा रोगबाट ग्रसित छिन्, तर गाउँमै यसको उपचार नहुँदा काठमाडौं जानु परेको पीडा उनले सुनाइन् । ‘गाउँमै ठूलो अस्पताल छ,’ उनले भनिन्, ‘तर के गर्नु, भनेको समयमा उपचार पाइँदैन् ।’ कर्णालीका अस्पतालमा दरबन्दीअनुसार डाक्टर त छैनन् नै, भौगोलिक विकटतासँगै पर्याप्त सुविधा नहुँदा विशेषज्ञ डाक्टर यहाँ बसेर जनतालाई सेवा दिन नचाहेको उनको भनाइ छ ।
विशेषज्ञ चिकित्सक छोटो समय बस्ने, जाने हुँदा झन समस्या हुने गरेको छ । कर्णालीका अस्पतालहरूमा विशेषज्ञ चिकित्सकको दरबन्दी ५२ जनाको छ, तर यहाँ ६ जना विशेषज्ञ चिकित्सक मात्र कार्यरत रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उसका अनुसार कर्णालीमा ४६ जना विशेषज्ञ चिकित्सकको दरबन्दी खाली छ । रुकुम पश्चिम, सल्यान, डोल्पा, हुम्ला, मुगु, कालीकोटमा एक÷एक, दैलेखमा दुईजना विशेषज्ञ चिकित्सकको दरबन्दी छ, तर यी अस्पतालहरू पनि विशेषज्ञ चिकित्सकविहीन छन् ।
कर्णाली प्रदेशमा आठ अधारभूत स्वास्थ्य सेवा केन्द्र, समुदाय स्वास्थ्य इकाई ४८, १२ डेण्टल क्लिनिक, आठ जिल्ला अस्पताल, एक आँखा अस्पताल, एक आँखा क्लिनिक, सामान्य स्वास्थ्य केन्द्र आठ, स्वास्थ्य केन्द्र दुई, स्वास्थ्यचौकी तीन सय ३६ रहेको स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकारी विनोद आचार्यले जानकारी दिए । यसका साथै संस्थागत क्लिनिक दुई, मेडिकल क्लिनिक एक, एनजिओ ११, नर्सिङहोम १२, अन्य स्वास्थ्य संस्था १७, पोलिक्लिनिक १२, प्राथमिक स्वास्थ्य केन्द्र १२, प्राथमिक अस्पताल एक, प्रादेशिक अस्पताल एक रहेको उनले जनाए । उनका अनुसार टिचिङ अस्पताल एक, सहरी स्वास्थ्य केन्द्र २४ गरी जम्मा पाँच सय १६ स्वास्थ्य संस्था छन् ।
थप सेवासुविधा दिएर विशेषज्ञ चिकित्सक ल्याउन सरकारले प्रोत्सहना दिनुपर्ने प्रदेश अस्पताका प्रमुख प्रा.डा. डम्बर खड्काले बताए । ‘सबै कर्मचारीलाई एउटै सेवासुविधा हुनु भएन,’ उनले भने, ‘चिकित्सकको योग्यता र तहअनुसारको थप सेवासुविधा हुनुपर्छ ।’ अस्पतालहरूमा धेरै बिरामी आउँदा एउटै चिकित्सकले २४ सैं घण्टा समय दिनुपर्ने भएकाले बिरामीको अपेक्षाअनुसार सेवा दिन नसकेको उनले बताए । ‘एउटै चिकित्सकले धेरै समय दिँदा कहिलेकाहिँ चिकित्सक रिसाएर बोल्न सक्छन्,’ उनी भन्छन्, ‘त्यस्तो अवस्थामा बिरामीलाई डाक्टरले राम्रोसँग उपचार गर्दैन भन्ने आरोप आउँछ ।’
कर्मचारी समायोजन प्रक्रिया नसकिएकाले पनि यहाँ विशेषज्ञ चिकित्सक नआएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी रामप्रसाद आचार्यले बताए । उनका अनुसार केही विशेषज्ञ चिकित्सक बाहिरी जिल्लाबाट पनि कर्णालीमा काजमा आएका छन् । उनीहरूको संख्या तथ्यांकमा नदेखिएको उनको भनाइ छ ।

त्यस्तै चिकित्सकलाई कर्णालीमा आउने वातावरण निर्माणका लागि पहल भइरहेको उनले बताए । ‘चिकित्सकलाई थप सेवासुविधा दिने गरी प्रदेश सरकारले पहल गरेको छ,’ उनले भने, ‘यस्तो प्रोत्सहानले चिकित्सक कर्णालीमा आकर्षित हुन सक्छन् ।’ दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मीहरुको निरन्तरतालाई प्रदेश सरकारले चुनौतीका रूपमा समेत लिएको छ । कर्णालीपत्र

प्रतिक्रिया