गमौडी बाल विवाह रहित

गमौडी बाल विवाह रहित

हिक्मतबहादुर नेपाली
दैलेख :
अब कोही नाबालक छोरी अन्मिनु पर्दैन् । कलिलै उमेरमा विवाह गरेकी छोरीले पाएको पीडा यहाँका बुबाआमाले देख्नु नपर्ने भएको छ । यसैले होला यहाँका स्थानीय निकै खुसी देखिन्थे । कार्यक्रममा सहभागि सबै गाउँलेले छातीमा हात राखेर बाल विवाह विरुद्ध प्रतिबद्धता जनाउँदै गर्दा हर्षित देखिन्थे । वडामा तीन बर्ष देखि बाल विवाह विरुद्ध अभियान चलाइएको थियो । दुल्लु नगरपालिका–१० गमौडीलाई लामो तयारी पछि बाल विवाह मुक्त घोषणा बल्ल गरिएको छ ।
२० वर्षमुनिकाको विवाहको अभिलेख वडा कार्यालयमा नभएको, बालबालिकाको जन्मदर्ता अनिवार्य गरिएको र २० वर्षभन्दा कम उमेरमा विवाह नभएको सूचकांकका आधारमा वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो ।
कार्यक्रममा स्थानीय विद्यार्थी, महिला, पुरुष, गाउँका अगुवा र जनप्रतिनीधिको उपस्थिति थियो । उनिहरुले कानुन विपरीत विवाह हुन नदिने प्रतिबद्धता गरे । उमेर पुगेर मात्र विवाह गराउनेमा सहमत भए । अधिकांशले हस्ताक्षर गरेर सहमती जनाए । सरकारले तयार गरेको बाल विवाह मुक्त सूचकांक पुरा गरेपछि औपचारिकता दिएको वडाअध्यक्ष हर्क बहादुर खड्काले बताए । यस अवधीमा २० वटा बाल विवाह रोकिएको उनले बताए । युवा तथा भाई समुह, बाल विवाह प्रभावित समुह र धार्मिक गुरुहरुको समुह गठन गरि परिचालन गरिएको थियो । बाल विवाह मुक्त वडा बनाउन घरदैलो, सडक नाटक कार्यक्रम समेत गरिन्थ्यो । निरन्तरको निगरानी पछि बाल विवाहमा कमी आएको छ । धार्मिक भोज भतेर, बाजा बजाएर गरिने विवाहमा ९० प्रतिशत कमी आएको अध्यक्ष खड्काको भनाई छ । स्वास्थ्य चौकी र अस्पतालमा आउने २० बर्ष मुनीका गर्भवती महिलाहरुको संख्यामा कमी आएको उनले बताए ।
घोषणा कार्यक्रममा बाल विवाह अस्वीकार्य भएको प्रतिबद्धता समेत गरिएको छ । बाल विवाह प्रति सचेत छौ, बाल विवाहको निमन्त्रणालाई अस्वीकार गर्छौ, बाल अधिकारको सम्मान, बालबालिकाको उज्ववल भविष्यको थप पहल गर्ने प्रतिबद्धता गरिएको छ । पूर्व सांसद लक्ष्मीप्रसाद पोखरेलले बाल विवाह गर्न कानुनमै बन्देज गरिएको अवस्थामा स्थानीय सरकारले पूर्ण रुपमा कार्यान्वयनमा लाग्नु सकारात्मक रुपमा लिनुपर्ने बताए । सामाजिक तथा कानुनी अपराध मानिएको बाल विवाह अन्त्य गर्न सबैको साथ आवश्यक रहेको बताए । बाल विवाह मुक्त वडा बनाउन आवाज संस्था सुर्खेतले तीन बर्ष देखि उक्त वडामा विभिन्न कार्यक्रम संचालन गरेको थियो । नगर तथा वडास्तरमा विभिन्न संरचना तयार गरि बाल विवाह विरुद्ध अभियान सञ्चालन गरेको कार्यक्रम संयोजक कर्णबहादुर खत्रीले बताए । मुलुकमै धेरै बाल विवाह हुने जिल्ला मध्ये दैलेख पनि पर्छ । सन २०३० सम्ममा बाल विवाह मुक्त गर्ने लक्ष राज्यले लिएको छ ।

दैलेख ः दुल्लु नगरपालिका–१० लाई बाल विवाह मुक्त घोषणा कार्यक्रममा सहभागि ।

प्रतिक्रिया