बलात्कार आरोपमा पक्राउ

बलात्कार आरोपमा पक्राउ

आश्विन २५, रुकुम पश्चिम – १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी उनकै नग्न फोटो खिचेको आरोपमा बाँफीकोट गाउँपालिका–५, का १९ वर्षीय अम्मर विकलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २ गते राति विकले घरमा कोही नभएको मौका छोपी ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे कसैलाई भने नग्न फोटो र भिडियो देखाइदिने भन्दै धम्क्याएका कारण उजुरी ढिला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालिकाका दाइले शुक्रबार मात्रै घटनाबारे प्रहरीमा उजुरी दिएका थिए । उजुरी आएको दुई घण्टाभित्रै आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए ।

वडामा तोडफोड गर्ने पक्राउ
आठबीसकोट नगरपालिकाको वडा कार्यालय तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । असोज १२ गते नगरपालिकाको १४ नम्बर वडा कार्यालय तोडफोड गरेको अभियोगमा स्थानीय विश्वास मल्ल, दीपक भनिने समीर चन्द र तिलक मल्ललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । डिएसपी खड्काका अनुसार तोडफोडबाट कार्यालयको झ्याल, ढोका र अन्य सामग्रीमा क्षति पुगेको छ ।

प्रतिक्रिया