राजनीति गुडाउने सडक

राजनीति गुडाउने सडक

दैलेख कार्तिक १ ।
जिल्लाका स्थानीय तहलाई विकासको भोक यतिसम्म चढेको छ कि, डाँडाकाँडा डोजर पुग्यो । त्यो पनि डोजर चालक नै इन्जिनियर ! न बस्ती जोखिममा पर्ने ख्याल गरियो न जमिन बगाउने चिन्ता, न त पर्यावरण मासिने चेत नै । जिल्लाका ११ वटै स्थानीय तहले सबै भन्दा बढि लगानी सडक निर्माणमै गरे । वडै पिच्छे डोजर प्रयोग गरि जथाभावी सडक निर्माण भए । ती सडक खन्नका लागि स्थानीय तहमा डोजर किन्ने होड नै चल्यो । स्थानीय तहहरू डोजरमय बन्यो । टोल टोलमा सडकको ट्रयाक खोलिएको छ । बनेका सडकलाई स्तरोन्ती भन्दा पनि नयाँ सडक खन्नमै जनप्रतिनीधिले प्राथमिकता दिए । जसको फलस्वरुप विपद् अधिकाँश बस्तीहरु पहिरोको जोखिममा छन् ।
कार्यकर्ता रिझाउन र निर्वाचनमा जनमत आफु तिर तान्नकै लागि घरदैलोमै पु¥याईएका सडकले सहज भन्दा सास्ती दिएको छ । शुक्रवार यहाँ आयोजित विपद् जोखिम न्यूनिकरण सम्बन्धि अन्तरक्रियामा सडकले विपद् निम्तिएको चर्चा भयो । विपद् जोखिम न्यूनिकरणका लागि अन्तराष्ट्रिय दिवसको अबसरमा जिल्ला विपद् व्यवस्थापन समिति र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा आयोजित कार्यक्रममा प्रतिनीधि सभाका सांसद राजबहादुर बुढाले ‘राजनीति गुडाउने सडक’ धेरै खनिएको उल्लेख गरे । ‘गाडी गुडाउने सडक त छदैछ यहाँ त राजनीति गुडाउने सडक धेरै खनिए,’ उनले भने । जथाभावी खनिएका सडकले पहिरोको जोखिम बढेको उनको भनाई छ । उनले विपद् जोखिम न्यूनिकरण गर्न पूर्व तयारीका लागि आह्वान गरे ।
प्रतिनीधि सभाका अर्का सांसद रविन्द्रराज शर्माले विपद् न्यूनिकरणका लागि स्थानीय तहले पाठ्यक्रम निर्माण गरि विद्यालय स्तरमा लागु गर्न सुझाव दिएका छन् । वर्तमान सरकार दुर्गमका नागरिकहरुलाई सुगम स्थानमा स्थानान्तरण गर्न लागि परेको उनको भनाई छ ।
कर्णाली प्रदेशका सांसद अमरबहादुर थापाले जथाभावी खनिएको सडकले विपद् निम्तिएको बताउँदै स्थानीय तहले सडक निर्माणको निश्चित मापदण्ड निर्माण गरेर प्रमुख सडकलाई स्तरोन्ती गर्नुपर्नेमा जोड दिए । उनले भुकम्प प्रतिरोधी घर निर्माणको मापदण्ड स्थानीय तहमा कार्यान्वयन गर्नुपर्ने बताए । चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले बृक्षारोपण र सुरक्षित विकासमा जोड दिए ।
दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले डोजर प्रयोगमा मापदण्ड निर्माण गर्नुपर्ने बताए । उनले विपद् न्यूनिकरणका लागि विपद् प्रतिकार्य योजना बन्ने क्रममा रहेको जानकारी दिए । अन्तरक्रियामा नेपाली काँग्रेसका जगतजंग थापा, रेडक्रस सभापति खेमराज केसी लगाएतले विपद् न्यूनिकरणबारे विचार राखेका थिए । सोहि अबसरमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका उप–कार्यकारी निर्देशक बसन्त श्रेष्ठले विपद् न्यूनिकरण सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।
अन्तरक्रियासँगै विपद् जोखिम न्यूनिकरणका लागि अन्तराष्ट्रिय दिवसको अबसरमा गरिएका साताव्यापी कार्यक्रम सकिएको छ । साताव्यापी कार्यक्रम अन्तरगर्त विभिन्न क्रियाकलापहरु सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया