सिलाई कटाईले फेरिएको जीवन

सिलाई कटाईले फेरिएको जीवन

हिक्मतबहादुर नेपाली/श्याम विसी
दैलेख, कात्तिक ५ गते ।
सामान्य परिवारमा जन्मिएकी भैरबी गाउँपालिका–४ थापावाडाकी पार्वती थापालाई सानै उमेर देखि पढ्ने ठुलो धोको थियो । तर, उनको आर्थिक अवस्था कमजोर थियो । सामान्य परिवार त्यो माथी परम्परागत मान्यताले गुज्रिएको समाज । दुई दिदि, दुई जना बहिनी । घरपरिवारको चाहाना थियो, छोरी पढोस् भन्ने । तर, परिवारको दैनिक गर्जो टार्ने अवस्थासम्म थिएन् । आर्थिक अवस्था कमजोर भएकै कारण दुई दिदिहरु पढाई पुरा गर्न नपाएरै घरबारे बने । उनको काँधमा थप जिम्मेवारी थपियो ।
घर खर्च जुटाउनु, बहिनीहरुको हेरचाहको जिम्मेवारी पार्वतीको काँधमा थपियो । दुःख, सुख गर्दै उनले एसएलसीसम्म पढिन् । एसएलसीमा केहि विषय उनुर्तिण भएपछि उनलाई ठुलो झट्का लाग्यो । २२ बर्षिया पार्वतीको आर्थिक अवस्था न्यून भएकै कारण मौका परिक्षा दिने फारम भर्न समेत पाइनन् । आर्थिक अभावका कारण १० कक्षाको पढाईमा मिलेको नमिठो असफलताले उनको जीवनमा निकै ठुलो पाठ सिकायो । यहि अवस्थामा जीवन उकास्ने कयौँ प्रयास गरिन् । र, सफल पनि भईन् ।
सिप सिकेर परिवार र समाजमा केहि गरेर देखाउने अठोट गरेकी पार्वतीले सिलाई कटाईको सिप सिक्न सुरु गरिन् । सिलाईकटाई सिक्नका लागि मासिक एक हजार शुल्क लाग्थ्यो । एक महिनासम्म त दसैँको टिका लगाएर जम्मा भएको दक्षिणा जम्मा गरेर सिलाईकटाई सिप सिकिन् । तर अर्को महिना तालिममा सहभागि हुन शुल्क तिर्ने रकम थिएन् । केहि दिन सिलाई कटाई सिक्न समेत छोडिन् उनले । उनका बुबाले दोस्रो महिना सिलाईकटाईको तालिम दिन एक हजार रुपैयाँ जुटाईदिए । सोहि समयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा गठित प्रगतिशिल युवा क्लबमा आबद्ध भइन् । सिलाईकटाई त सिकिन् तर उनलाई मेसिन खरिद गर्ने हम्मेहम्मे प¥यो । कारण आर्थिक अभाव । मेसिन किन्ने रकम जुटाउन उनले ठुलै संघर्ष गर्नुप¥यो ।
उनि आबद्ध युवा क्लबलाई सोेसेक नेपाल मार्फत बिउपुँजी कोषका लागि प्रतिव्यक्ति १५ हजारका दरले अनुदान दिइयो । उक्त अनुदान क्लबका आबद्ध सदस्यहरुले आवश्यकता अनुसार ऋण दिएर सदुपयोग गर्न सक्थे । उनले पनि त्यसै गरिन् । क्लब मार्फत ऋण लिएर मेसिन खरिद गरिन् । व्यवसाय सुरु गरेको सुरु सुरुमा गाउँघरका नजिकका दिदिबहिनीहरुको कपडा सिलाउन थालिन् । उनको सिलाई कटाई व्यवसाय अहिले निकै फस्टाउँदै गएको छ । व्यवसाय सञ्चालन गरेरै परिवारको आवश्यकता पुरा गर्न सक्षम भएकी छिन् । सिप सिक्दै युवा क्लब मार्फत सामाजिक जागरणमा सक्रिय भएकी पार्वती अहिले त्यहि युवा क्लकको सचिव छिन् । परिवारको जिम्मेवारी बहन गर्नु उनको बाल्यवस्था थियो । तर अहिले उनको अवस्था फेरिएको छ । उमेर पढाई र जिम्मेवारी बढ्दै गयो, उनको मेहनतले सफलता पाउँदै गयो । बाल्यवस्थाको दुःख सम्झदै अहिले उनि खुसी छिन् ।

पार्वती थापा

सोसेक नेपालले आयोजना गरेको तालिम तथा गोष्ठिहरुमा सहभागि हुँदा आत्मविश्वास बढाएको पार्वती बताउँछिन् । सामाजिक कार्यमा सक्रिय उनि आबद्ध क्लब मार्फत छाउपडी, बाल विवाह विरुद्ध चेतनामुलक कार्यक्रम सञ्चालन हुँदा सहभागि हुन्छिन् । पार्वती र उनको क्लबको समुहले गरेको प्रयासहरु अहिले समाज परिवर्तनको माध्ययम बन्ने थालेको छ । उनिहरुको काममा सिंगो समाजले समेत साथ दिन थालेको छ ।
उनले ईच्क्षा शक्ति भए सफलतामा कुनै कुराले पनि बाधा पु¥याउँदैन भन्ने प्रमाणित गरिदिएकी छिन् । गाउँकै युवा क्लब हुँदै उनि अहिले कर्णाली प्रदेश स्तरिय युवा सञ्जालको कोषाध्यक्ष बन्न सफल भएकी छिन् । उनले गरेको अपत्यारिलो प्रगतीमा अहिले उनको समाजनै खुसी छ । अहिले उनीहरूको हेर्ने दृष्टिकोण पनि फेरिएको छ ।
ग्रामिण बस्तीबाट उदायकी पार्वती समाजकै प्रेरणाको स्रोत बनेकी छिन् । बाल्यवस्थामा कयौ दुःख गरेर हुर्काएको छोरीको प्रगती र समाज परिवर्तनका लागि गरेका काम देखेर पार्वतीका बुबा मानबहादुर थापा ज्यादै खुसी छन् । पार्वतीको यो प्रसार र प्रगतीमा उनका परिवार मात्रै होइन सिंगो समाज, जिल्ला र सम्बन्धित सरोकारवालाहरु पनि उत्तिकै खुसी छन् । आफ्ना छोराछोरीको प्रगतीमा खुशी नहुने आमा त को नै होला र ? आफ्नो समाजका लागी पार्वती सरहकै रुप देखाउन सफल पार्वतीको प्रगती देखेर अहिले घर समाज नै छक्क परेको छ । विशेष रिपोर्ट

प्रतिक्रिया