विकृति विसंगति हटाउन सघाउन शिक्षा जरुरी

विकृति विसंगति हटाउन सघाउन शिक्षा जरुरी

दैलेख कात्तिक ८
प्रतिनिधिसभाका सांसद पार्वतीकुमारी बिशुन्केले समाजका बिकृति र बिसंगति हटाउन सघाउने शिक्षाको आवश्यकता रहेको बताएकी छिन् । स्थानीय तह दलित जनप्रतिनिधि मञ्चद्धारा शुक्रवार दुल्लूमा आयोजित पहिलो घुम्ती बैठक तथा दलित अगुवाहरुको भेलामा उनले सो विचार राखेकी हुन् ।
जातीय विभेद, महिला हिंसा र यस्तो थुप्रै सामाजिक समस्या समाधानमा सघाउने पाठ्यक्रम र त्यस अनुसारको शिक्षण पद्धति जरुरी रहेको साँसद बिशुन्केले टिप्पणी गरिन् । उनले जनप्रतिनिधिहरुले स्थानीय प्राथमिकताका आवश्यकताका आधारमा योजना छनौट गर्नुपर्ने बताइन् ।
दुल्लू नगरपालिकाका उपमेयर बिष्णु थापाले महिला, दलित, जनजाति वा अपाङ्ग लक्षित बजेटहरु बिनियोजन गर्दा जति कठिन छ त्यतिले बजेटको पारदर्शिता र सदुपयोगमा समस्या रहेको औल्याइन् ।
दुल्लू नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपालले जातीय विभेद सामाजिक समस्या भएको बताए । विभेद भोग्ने दलित समुदाय भए पनि विकास सिद्धान्तको हिसावले समाजको साझा सवाल भएको उनले प्रष्ट्याए ।
सिल्पी समाजका संयोजक बखत नेपालीले दलितहरुको जीवनस्तर उठाउन आर्थिक उपार्जन र स्वरोजमूलक कार्यक्रमको जरुरी रहेको व्याख्या गरे । नेपाल दलित संघका केन्द्रीय सदस्य सूर्य बिश्वकर्माले स्थानीय तहहरुले लक्षित बजेट नीतिलाई बेवास्ता गरेको भन्दै दलित समुदायप्रति उत्तरदायी हुन आग्रह गरे ।
कार्यक्रममा दैलेख उद्योग बाणिज्य संघका महासचिव राजेश हमालले आर्थिक सक्षमतापछि सामाजिक हैसियत बढाउने भएकोले दलित समुदायले गर्दै आएको पेशा व्यवसायलाई उत्पादन र बजार केन्द्रित गर्नुपर्ने आवश्यकता औल्याए ।
स्थानीय तह दलित जनप्रतिनिधि मञ्चका संयोजक दिनेशबहादुर बिकको अध्यक्षतामा भएको दलित अगुवा भेला कार्यक्रममा स्थानीय तहका दलित जनप्रतिनिधि र समुदायवीचको सहकार्यता विषयमा सहभागीहरुवीच खुला अन्तरक्रिया समेत भएको थियो ।
खुला छलफलमा स्थानीय तह दलित जनप्रतिनिधि मञ्च सदस्यहरु पदमबहादुर बिक, ललिता बिक, मनकुमारी सुनार, पूर्णाकुमारी बिक, डिलबहादुर सुनार, हर्कबहादुर नेपाली, दुल्लू नगर कार्यपालिका सदस्यहरु तकमान कामी, अधिकारकर्मीहरु मना बादी, नैनबहादुर बिक, लालु दमाई, सुशीला योगी, पत्रकार अमर सुनारले पनि जातीय विभेद समस्या र समाधान उपाय बारे धारणा राखेका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक हिक्मत बोहोरा, दुल्लू नगरपालिका वडा नं. १ का वडाध्यक्ष नयाराम थापा, दुल्लू नगर कार्यपालिका सदस्यहरु खजुरा नेपाली, दिपेन्द्र मेनाल, दुल्लू वडा नं. १३ का वडा सदस्य कोकिला नेपाली समेत सहभागी थिए ।
यसैवीच संयोजक दिनेशबहादुर बिकको अध्यक्षतामा भएको स्थानीय तह दलित जनप्रतिनिधि मञ्चको पहिलो घुम्ती बैठकले दुल्लू भेलाको कार्यक्रम व्यवस्थापन खर्च दुल्लू नगरपालिका कार्यालयले व्यहोरोकोमा धन्यवाद दिंदै मञ्चको दोश्रो घुम्ती बैठक आगामी मंसिर ६ गते नौमूूले गाउँपालिकामा बस्ने निर्णय गरेको छ ।

प्रतिक्रिया