महाबु कर्णालीको नयाँ गन्तव्य : मुख्यमन्त्री शाही

महाबु कर्णालीको नयाँ गन्तव्य : मुख्यमन्त्री शाही

दैलेख : तिब्बत र भारतलाई जोड्ने जमुनाहा–नाम्चेनाला त्रिदेशीय सडकको नयाँ ट्र्याक खोल्नुपर्ने खण्डको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको टोलीले अवलोकन गरेको छ । संघीय सरकारले अघि सारेको भारतको जमुनाहा नाकाबाट सुर्खेत, दैलेखको महाबु, कालिकोट, जुम्ला, हुम्ला हुँदै तिब्बतसँगको नाम्चेनाग्ला जोड्ने त्रिदेशीय सडकको केही भागमा नयाँ ट्र्याक खोल्नुपर्नेछ । मुख्यमन्त्री शाही र आर्थिक मामिलामन्त्री प्रकाश ज्वालासहितको टोलीले नयाँ ट्र्याक खोल्नुपर्ने दैलेखको महाबु र कालिकोटको नाग्मखण्डको स्थलगत अवलोकन गरेका हुन् ।

यो सडक निर्माणपछि दैलेखको पूर्वी क्षेत्रका बासिन्दा र विशेष गरेर दैलेख सदरमुकाम दैलेख बजार, भगवतीमाई र नौमूले गाउँपालिका बासिन्दालाई सहज हुने अवलोकन टोलीमा रहेका प्रदेश सभा सदस्य अमरबहादुर थापाले बताए । यसले कालिकोट र जुम्लाको पश्चिमी क्षेत्रका बासिन्दालाई पनि यातायातमा सहजता आउनेछ ।

सुर्खेत हुँदै कर्णाली राजमार्गका लागि लामो समयदेखि पश्चिम क्षेत्रबाट कर्णाली राजमार्ग सञ्चालनमा छ । सडकले पश्चिमका बासिन्दाको आवश्यकता पूरा गरेको छ । सदरमुकामको मध्यभाग दैलेखको डुंगेश्वरदेखि दुल्लु हुँदै कालिकोट जोडिने सडकको काम पनि सुरु भएको छ । सबै बाटोको स्तरोन्नति गर्नुपर्ने र महाबु सडक तत्काल जोड्नुपर्ने थापाको भनाइ छ । दैलेख महाबु हुँदै कालिकोटको गाल्जे जोड्ने सडकका लागि संघीय सरकारले ५२ करोड र प्रदेश सरकारले ३० करोड विनियोजन गरेको छ । तर, कामको सुरुवात कताबाट गर्ने भन्ने विषयमा विवादले गर्दा टुंगो लाग्न सकेको छैन ।

महाबुसम्म सडकका लागि दैलेखको काँडाचौरलाई जिरो पोइन्ट मानेर काम अगाडि बढाउनुपर्ने सांसद रवीन्द्रराज शर्माको भनाइ छ । दैलेख बजारदेखि ४२ किलोमिटर कच्ची सडक सञ्चालनमा छ । यसको स्तरोन्नति र कालिकोटको गाल्जेसम्म सडक र पक्की पुल निर्माण गरिए सबैभन्दा छोटो बाटो बन्नेछ । जुम्लाबाट सुर्खेत पुग्न कर्णाली राजमार्गभन्दा ७६ किलोमिटर छोटो हुने जिल्ला समन्वय समिति प्रमुख लालबहादुर सार्कीले बताए । यसले जुम्ला, कालिकोट र दैलेखको आधा भू–भागका बासिन्दालाई सहज हुने उनको भनाइ छ ।
सडक अवलोकनका क्रममा महाबु पुगेका मुख्यमन्त्री शाहीले महाबुलाई कर्णालीको नयाँ गन्तव्यका रूपमा विकास गरिने बताए । ‘सडकको तत्काल स्तरोन्नतिसँगै महाबु पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न पूर्वाधार विकास गरेर महाबु क्षेत्रलाई कर्णालीको नयाँ गन्तव्य बनाउँछौँ,’ उनले भने ।

अवलोकन टोलीमा रहेका आर्थिक मामिलामन्त्री ज्वालाले दैलेख, कालिकोट र जुम्लाका बासिन्दाको अपेक्षा पूरा हुने बताए । यो सडक निर्माणका लागि प्रदेश सरकारले पनि पहल गर्ने उनको भनाइ थियो । मुख्यमन्त्री शाहीले पदमार्गको शिलान्यास पनि गरेका छन् । प्रदेश सरकारको ३६ लाख रुपैयाँमा पदमार्ग निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया