पेट्रोलियम अन्वेषणकाे तयारी अन्तिम चरणमा

पेट्रोलियम अन्वेषणकाे तयारी अन्तिम चरणमा

दैलेख कात्तिक १८ – जिल्लाको पञ्चकोसी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणका लागि क्याम्प बनाउने काम धमाधम चालु छ। डुंगेश्वर गाउँपालिका–१, चुप्रास्थित वडा कार्यालयछेउमै चिनियाँ टोलीले प्राविधिक र कामदार बस्ने क्याम्प बनाएको हो।

एक हप्तामै शौचालय, खानेपानीका धारा बनाएका उनीहरूले महिना दिनभित्रै बस्ने टेन्ट पनि हाले। वरपर सुरक्षाका लागि घेरबार लगाउने लगायत काम चलिरहेको छ।

चिनियाँ विशेषज्ञ टोली दसैंलगत्तै दैलेख आएको थियो। टोलीका सदस्यहरू सदरमुकामको होटलमा बस्छन्। विहानै साइटमा निस्कन्छन्। ‘होटलमै ब्रेकफास्ट गरेर विशेषज्ञ टोली फिल्ड जान्छ,’ टोलीका एक सदस्यले भने, ‘राति अबेरमात्र फिल्डबाट होटल फर्कन्छन्।’

क्याम्पमा नेपाली तथा चिनियाँ प्राविधिक र कामदार बस्ने व्यवस्थापन पक्षले जनाएको छ। अन्वेषणमा सहभागी कामदार र प्राविधिकका लागि टेन्ट र शौचालय, खाने–बस्ने ठाउँ बनाउने काम अन्तिम चरणमा पुगेकोे अन्वेषणको व्यवस्थापन गरिरहेको बिजिपी नेपालका कार्यक्रम संयोजक सूर्यमणि लामिछानेले बताए। ‘अहिले व्यवस्थापनको काम भइरहेको छ।’ लामिछानेले भने, ‘ड्रिल गर्ने लगायत काम हप्ता दिनमा सुरु हुनेछ।’

दुई स्थानमा अन्वेषणका लागि आउने टोली बस्ने गरी व्यवस्थापन मिलाएको उनले बताए। दैलेखको दुल्लु नगरपालिकाको हस्पिटलनजिकको चौर र डुंगेश्वर गाउँपालिकाको चुप्रामा क्याम्प राखिएको हो। अहिले दुवै ठाउँमा आवास निर्माण कार्य दु्रत गतिमा चलिरहेको छ। चुप्रामा १२ वटा टेन्ट राखिएको छ। आवश्यकता अनुसार टेन्ट थप्ने योजना छ।

प्रारम्भिक चरणको अध्ययन गरिसकेको टोलीले अब तीन महिना जिल्लामै बसेर अन्वेषणको काम गर्नेछ। उनीहरूले स्थापना गरेको दुईवटा क्याम्पबाट प्राविधिक र कामदार खटिनेछन्। त्यसका लागि आवश्यक व्यवस्थापन कार्य दैलेखको डुंगेश्वर गाउँपालिका र दुल्लु नगपालिकामा भइरहेको छ। खानी तथा भू–गर्भ विभागको पेट्रोलियम परियोजना प्रमुख सुधीर रजौरेले अति संवेदनशील भएकाले तेल र ग्यास अन्वेषणका लागि विशेषज्ञहरूले सूक्ष्म ढंगले काम गर्ने बताए।

अहिले अन्वेषणमा आउने प्राविधिक र कामदारका लागि बस्ने, खाने, शौचालय, क्याम्प घेरबार निर्माण कार्य सकिन लागेको व्यवस्थापनले जनाएको छ। चुप्रामा ६ वटा शौचालय, आठवटा धारा निर्माण गर्न लागिएको छ। चिनियाँ टोली ३० देखि ३५ जना आउने र अरू नेपाली टोली रहने कार्यक्रम संयोजक लामिछानेले बताए।

अर्को क्याम्पमा पनि यस्तै भौतिक संरचना निर्माण गरिने छ। अन्वेषणमा धेरैभन्दा धेरै स्थानीय कामदार प्रयोग गरिने लामिछानेले बताए। अन्वेषणका लागि आवश्यक ड्रिल मेसिन नेपाल ल्याउने तयारी भइरहेको छ। दैलेखमा अन्वेषण कार्यका लागि चिनियाँ र नेपाली टोली आएपछि उमंग छाएको छ।

अन्वेषणमा कामदारको सहयोगमा प्राविधिक तथा विशेषज्ञले चट्टान हेरेर जमिनमुनि कस्तो छ भनेर एमआरआई जस्तो सर्भे गर्ने विभागले जनाएको छ। अन्वेषणमा स्यास्ट्रिक सर्भे गरिनेछ, जसले जमिनमुनि कम्पनको तरंग पठाएर ड्रिलिङ हुनेछ। यसबाट भण्डारण कति छ र कहाँसम्म फैलिएको छ, कहाँबाट निकाल्न मिल्छ जस्ता कुरा पत्ता लगाइने विभागको पेट्रोलियम परियोजना प्रमुख रजौरेले बताए।

अन्वेषणका क्रममा टोलीले ग्यास तथा पेट्रोलियम पदार्थ भएको जमिनमुनि कम्तीमा पाँचदेखि २० किलोमिटरसम्म अध्ययन गर्नेछ। चीनको चाइना जिओलोजिकल सर्भेको टोलीको नेतृत्व वरिष्ठ भू–गर्भविद ट्यान फुएनले गरेका छन्। अन्वेषण अवधि तीन वर्षको रहने विभागले जनाएको छ। दोस्रो चरणमा अन्वेषण टोलीले तीन महिना त्यही ठाउँमा बसेर काम गर्नेछ। नागरिक

प्रतिक्रिया