गुराँसबाट २२ करोडको तरकारी बिक्री

गुराँसबाट २२ करोडको तरकारी बिक्री

पंखबहादुर शाही
दैलेख कात्तिक २७।
तरकारीको पकेट क्षेत्र मानिएको दैलेखको गुराँस गाउँपालिकाबाट गत १ वर्षमा रू। २२ करोड बराबरको तरकारी बिक्री भएको छ । गाउँपालिकाले दिएको प्रारम्भिक तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७५/७६ मा उक्त मूल्य बराबरको तरकारी बिक्री भएको हो । यो तथ्यांक अघिल्लो आव २०७४/७५ भन्दा केही बढी हो । अघिल्लो आवमा रू। १८ करोड बराबरको तरकारी बिक्री भएको गाउँपालिकाले बताएको छ । गाउँपालिकाको कृषि शाखाले दिएको जानकारी अनुसार गत आवमा आलुलगायत अन्य तरकारी गरी करीब १ हजार टन उत्पादन भएको थियो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतसँग सिमाना जोडिएको गाउँपालिकामा भएकोले तरकारीलाई बजारको त्यति समस्या छैन ।

गुराँसमा सबैजसो तरकारी उत्पादन हुने गर्दछ, जसमा आलु र बन्दागोभी उल्लेखनीय मात्रामा उत्पादन हुने गरेको छ । अहिले तरकारीको लागि यो गाउँपालिका कर्णाली प्रदेशकै ‘हब’ को रूपमा चिनिन थालेको छ । गाउँपालिकामा अधिकांश नागरिकलले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । गाउँपालिकाले वार्षिक रू। २–३ लाख बराबरको तरकारी उत्पादन गर्ने कृषकलाई मात्र व्यावसायिक कृषकको तथ्यांकमा समावेश गरेको छ । अझै उत्पादन बढाउन र व्यावसायिक तरकारी खेती गर्नको लागि गाउँपालिकाबाट नै निर्णय गरी किसानलाई अनुदानको व्यवस्था गर्नुका साथै विभिन्नखाले अभिमुखीकरण तालीम समेत दिने गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए ।

उनका अनुसार हाल गाउँपालिकामा १ हजारको संख्यामा व्यावसायिक तरकारी खेती गर्ने कृषक छन् । ‘आगामी २ वर्षमा अब यो संख्या २ हजार पुर्याउने हाम्रो लक्ष्य छ,’ उनले भने । गाउँपालिकाले अब लोकल कुखुरा र अन्य अग्र्यानिक उत्पादनलाई पनि वृद्धि गर्ने जानकारी दिएको छ । गाउँपालिकाले किसानलाई अनुदान, साझेदारी र बजारीकरण गर्न नीति नै बनाएको छ । गुराँसलाई तरकारीको पकेट क्षेत्र घोषणा गर्न अहिले प्रदेश सरकारले रू। १ करोड विनियोजन गरेको छ । गुराँसमा बाह्रै महीना हुस्सु, कुहिरो र पानी पर्ने भएकाले सिँचाइको अभाव भने त्यति देखिन्न । साथै, गाउँपालिकाले सिँचाइको पनि योजना अघि सारेको छ ।

प्रतिक्रिया