होमस्टेमा पर्यटक बढे

होमस्टेमा पर्यटक बढे

दैलेख मंसिर २ : रोजगारीका लागि विदेशिने युवाको संख्या जिल्लामा दिनप्रतिदिन बढ्दो छ। तर, यहाँको दुल्लु नगरपालिका–२ सुवाछेडाका स्थानीय युवाले बिदेसिने सपना त्यागेर कर्णाली राजमार्गमा होमस्टे सञ्चालन गरेका छन्। राराताल जाने पर्यटकलाई लक्ष्य गर्दै राजमार्ग छेउमा अर्गानिक खान्की उपलब्ध होमस्टे सञ्चालन गरेपछि दिनप्रतिदिन व्यापारसमेत बढ्दै गएको छ।

यहाँका १० घरधुरीको समूहमार्फत महादेव कृषि आर्गानिक होमस्टे सञ्चालनमा ल्याइएका हो। राजमार्ग छेउमा पहिलो पटक सञ्चालनमा आएको होमस्टेमा जिल्लामा पाउने अर्गानिक अन्नबाली तथा फलफूलबाट विभिन्न परिकार बनाइन्छ। दुल्लु नगरपालिका र घरेलु तथा साना उद्योग विकास कार्यालय दैलेखको सहयोगमा होमस्टे सञ्चालन गर्न सहज भएको समितिका अध्यक्ष प्रेमबहादुर थापाले बताए।

होमस्टेमा स्थानीय स्तरमा उत्पादन भएका गिठा, तरुल फलफूल तथा दूध दही, माछा, कुखुरा र खसीको मासु, ढिढोलगायत पर्यटकको इच्छानुसार आर्गानिक परिकारको व्यवस्था गरिएको उनको भनाइ छ। यहाँ आउने पर्यटकले मार्सी चालमको भात, फापर, जौं, कोदो, मकै, गहुँ र मासको रोटीका परिकार मन पराउने गरेका छन्।        

दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले होमस्टे रारा अवलोकन गर्न जाने पर्यटकका लागि मुख्य आकर्षकको केन्द्र बन्नुका साथै स्थानीयको आयआर्जनको स्रोत बनेको बताए। राजमार्गमा सञ्चालन गरिएको होमस्टेले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने नगरपालिकाको अपेक्षा छ। होमस्टेमा स्थानीय कला संस्कृतिअनुसार पाहुनाको स्वागत गरिन्छ।

प्रतिक्रिया