‘नेपालको विद्युत् दक्षिण एसियाली समृद्धिको आधार’

‘नेपालको विद्युत् दक्षिण एसियाली समृद्धिको आधार’

काठमाडौँ, मङ्सिर ६ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले दक्षिण एसियाली क्षेत्रको समृद्धि र विकासको आधारका रूपमा नेपालको जलविद्युत् बन्ने बताउनुभएको छ । बिहीबार राजधानीमा सुरु भएको दुई दिने ऊर्जा सम्मेलनमा बोल्दै मन्त्री पुनले नेपालको जलविद्युत्को सम्भाव्यताको उपयोग क्षेत्रीय ब्याट्री हाउसको रूपमा विकसित गरिने बताउनुभएको हो ।
दक्षिण एसियामा विद्युत् उत्पादन तथा खपत प्रवृत्ति विविध स्वरूपको रहेको र त्यसमा सामन्जस्यता र सन्तुलत ल्याउन नेपालको विद्युत् क्षेत्रीय बजारमा अत्यावश्यक रहेको पनि बताउनुभयो । “स्वदेशमा खपत वृद्धि र विदेश निर्यात गर्न यो क्षेत्रमा ठूलो विदेशी लगानी आवश्यक छ,” उहाँले भन्नुभयो– “लगानीका लागि उपयुक्त वातावरण र यसकोे सुरक्षामा सरकार प्रतिबद्ध छ । आर्थिक विकासका लागि ऊर्जा विकासको अपरिहार्यता अझै बढ्दै गएको छ ।”
आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईले नेपालको विद्युत् क्षेत्रीय बजारमा पु¥याउन सम्मेलनले सघाउ पु¥याउने बताउनुभयो । यस्तै, इपानका उपाध्यक्ष कुमार पाण्डेले विद्युत् विकास तथा बजार विस्तार गर्न त्रिपक्षीय समझदारी आवश्यक रहेको भन्दै निजी क्षेत्रले पनि विद्युत् बजार खोज्ने प्रयास सरकारको सहयोग आवश्यक रहे उल्लेख गर्नुभयो ।
सम्मेलनमा नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले क्षेत्रीय विकासका लागि बिजुली आवश्यक रहेकोले यसमा नेपाल भारत संयुक्त पहल आवश्यक रहेको बताउनुभयो ।
सम्मेलनमा बङ्गलादेशका विद्युत, ऊर्जा तथा खनिज मन्त्री नसरुल हमिद, भुटानका आर्थिक मामिला मन्त्री लोकनाथ शर्मालगायतले नेपाल, भारत, बङ्गालादेश र भुटानबीच बिजुली आयात–निर्यातको सम्भावनाको चर्चा गर्नुभएको थियो । ऊर्जासम्मेलनमा भारत, बङ्गालादेश, भुटानका मन्त्रीसहित सात सय स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागिता रहेको छ ।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा आयोजना निर्माण तथा ऊर्जा व्यापारका विषयमा १० सम्झौता भएका छन् । जलविद्युत् लगानी तथा विकास कम्पनी र एनएचपीसी इन्डिया तथा भारतीय इनर्जी एक्स्चेन्ज र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका बीच पनि सम्झौता भएको छ ।सम्मेलनमा भारत, बङ्गलादेश, भुटान, चीन, नेदरल्यान्ड, नर्वे, दक्षिण कोरिया, क्यानडालगायत देशका लगानीकर्ता एवं प्रतिनिधिको सहभागिता रहेको छ ।

नेपाली विद्युत्को बजार अपार
कार्यक्रमका विभिन्न सत्रमा ऊर्जा विज्ञ तथा सरोकारवालाहरूले नेपालको विद्युत्को आन्तरिक तथा बाह्य बजार अपार रहेको र त्यसलाई उचित समन्वयका साथ उपयोगमा ल्याउन सकिने औंल्याएका छन् ।
‘कनेक्टिभिटी एण्ड मार्केट्स फर नेपाल’ सत्रमा सहभागी वक्ताले बीबीआईएन मुलुकबीच सहकार्य र नेपालको आन्तरिक बजारमै उपयुक्त पहुँच विस्तार गर्न आवश्यक देखिएको औँल्याउनुभएको थियो ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जलविद्युत् क्षेत्रमा नेपालले ठूलो प्रगति गरिरहेको बताउँदै यो क्षेत्रमा भएको लगानीको प्रतिफल सुनिश्चि गर्न र थप लगानी एवं समग्र अर्थतन्त्र विस्तार गर्न सरकारले बजार खोजी तथा विस्तारलाई तीव्रता दिएको बताउनुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लगानी बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले नेपाली विद्युत्को बजार बृहद रहेको तर अझै पहिचान हुनै बाँकी रहेको धारणा राख्नुभएको थियो ।
एलपी ग्यास विस्थापनबाट घरायसी खपत बढाउन सकिने, पूर्वाधार विकासले तीव्रता पाउँदा नयाँ नयाँ बजार सिर्जनासमेत हुने उहाँको भनाइ थियो । “दक्षिण एसिया हाम्रो विद्युत्को बृहद बजार हो,” उहाँले भन्नुभयो,
“विद्युत् क्रेता बिक्रेताबीच ‘विन विन’ को अवस्था आउँदा यो क्षेत्रको समग्र अर्थतन्त्र नै लाभान्वित हुने र गति लिने अवस्था हुन्छ ।” लगानी विस्तारका लागि विद्युत् खरिद बिक्री प्रद्धति लचक हुनुपर्ने, धेरै सर्त राख्न नहुने उहाँले सुझाव दिनुभयो । “आन्तरिक तथा “अन्तरदेशीय प्रसारणलाइन विस्तार तथा अन्य प्रविधि उपयोगलाई तीव्रता दिने र बिनाअवरोध विद्युत् कारोबार हुने वातावरण बनाएर अपार बजारमा नेपाली विद्युत् प्रयोग हुनेछ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया