स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकतामा कर्णाली पर्छ : राज्यमन्त्री रावत

स्वास्थ्य मन्त्रालयको पहिलो प्राथमिकतामा कर्णाली पर्छ : राज्यमन्त्री रावत

सुर्खेत मंसिर ७ गते । संघीय सरकारका नवनियुक्त स्वास्थ्य जनसंख्या राज्यमन्त्री नवराज रावतले कर्णाली प्रदेशको स्वास्थ्य समस्या हल गर्न पहिलो प्राथमिकतामा राखिने बताए। स्वास्थ्य राज्यमन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला सुर्खेत पुगेका रावतले सुर्खेत विमानस्थलामा प्रेससंगठन नेपाल सुर्खेतले गरेको पत्रकारसँगको भेटमा कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रका समस्यामा सुधार गर्न आफू लागिपर्ने बताए। स्वास्थ्य मन्त्रीको पदभार गर्दाको पहिलो निर्णय नै कर्णालीमा शल्यचिकित्सक पठाउने भएको भन्दै राज्यमन्त्री रावतले आफ्नो मन्त्रालयले पहिलो प्राथमिकतामा कर्णालीलाई नै पार्ने बताए।

कर्णालीमा अहिले पनि कतिपय ठाउँमा सिटामोल नपाउने अवस्था अहिले पनि भएको भन्दै रावतले अव कर्णालीमा अव त्यस्तो अवस्था आउन नदिने दावी पनि गरे। ‘कर्णालीमा अहिले कतिपय ठाउँमा सिटामोल पाउने अवस्थामा समेत नरहेको अवस्था छ’, उनले भने, ‘पहिलो प्राथमिकतामा त्यसलाई सुधार गर्न कोशिस हुनेछ।’ उनले स्वास्थ्य संस्थामा हुने गरेको औषधिको अभावलाई कम गर्नका लागि तिन वटै तहका सरकारले अनुगमन गर्नुपर्ने बताए।

अहिले कर्णालीमा हरेक क्षेत्रमा जनशक्तिको अभाव रहेको भन्दै रावतले स्वास्थ्य क्षेत्रमा अभाव रहेको जनशक्तिलाई पूर्ति गर्न आफूले पहल गर्ने जनाए। राज्यमन्त्री रावतले कर्णाली प्रदेश अस्पतालको व्यवस्थापन पक्षमा सुधार गर्ने योजना रहेको सुनाए। कर्णालीमा जनताका दुःख पहिलो जस्तो नहुने वातावरण तयार गर्ने रावतको भनाई थियो। रावतलाई स्वागत गर्न सुर्खेत विमानस्थलमा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो। थाहा खबर

प्रतिक्रिया