पेट्रोलियम अन्वेषणमा चट्टान बाधक

पेट्रोलियम अन्वेषणमा चट्टान बाधक

(दैलेख) — श्रीस्थानमा पेट्रोलियम पदार्थको अन्वेषण गर्ने क्रममा कडा चट्टान फेला परेपछि मेसिन बिग्रँदै गएका छन् । जमिनको करिब १५ देखि १८ मिटर मुनिबाट ड्रिलिङ गर्नुपर्ने भए पनि अधिकांश ठाउँमा चट्टान भेटिएपछि अन्वेषणको काममा बाधा पुगेको छ ।

चट्टानका कारण मेसिनहरू छिटो बिग्रन थालेको अन्वेषण टोलीका मानव संसाधन प्रमुख सूर्यमणि लामिछानेले बताए । उनका अनुसार सर्भे र ड्रिलिङको काम तीव्र गतिमा हुनुपर्ने भए पनि भौगोलिक विकटता र कडा चट्टानका कारण समस्या भइरहेको छ । ‘मुख्य सर्भेको काम १२ लाइनमा हुने गर्छ,’ उनले भने, ‘हामीले लगभग दुई लाइनमा काम सकाएका छौं ।’
चट्टानका कारण अन्वेषण क्षेत्रमा ल्याइएका २० मध्ये अधिकांश मेसिन बिग्रिएका छन् । मेसिन मर्मत गर्दै काम गरिरहेको अन्वेषण टोलीले जनाएको छ । अहिले १० वटा मेसिनले नियमित काम गरिरहेका छन् । ‘सर्भेका आधारमा डिलिङ गरिने भए पनि मेसिन र चट्टानका कारण ढिलाइ भइरहेको छ,’ उनले भने, ‘समथर भूभाग भएको भए दिनमा ३० देखि ४० स्थानमा ड्रिलिङ गर्न सकिन्थ्यो ।’ उनका अनुसार १५ किलोमिटर आसपासमा फैलिएको पेट्रोलियम पदार्थको अन्वेषण गर्न विभिन्न स्थानमा सर्भे र डिलिङको काम भइरहेको छ ।
पञ्चकोसी क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण भीरपाखा र खेतबारीमा समेत भइरहेको छ । टोलीले अन्वेषणको कामका लागि चार समूह विभाजन गरेको छ । अहिले तीन समूहले मिलेर अन्वेषणको काम गरिरहेको प्रवर्द्धन परियोजना विभागका वरिष्ठ भूगर्भविद् गणेशनाथ त्रिपाठीले बताए । उनका अनुसार पेट्रोलियम जियोलोजिकल सर्भेका लागि १५, म्याग्नेटो टेलरिङ सर्भेका लागि २२ र जियोकेमिकलका लागि ६ जनाले काम गरिरहेका छन् । विस्फोटक पदार्थमार्फत चट्टान फुटाउने काम पनि छिट्टै सुरु गर्न लागिएको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले विस्फोटक पदार्थ र अन्य महत्त्वपूर्ण सामग्रीको सुरक्षाको जिम्मा जिल्ला सुरक्षा समितिले लिएको जानकारी दिए । अन्वेषणका क्रममा अनुसन्धान टोलीले ग्यास तथा पेट्रोलियम पदार्थ भएको जमिनमुनि कम्तीमा पाँचदेखि २० किलोमिटरसम्म अध्ययन गरिरहेको उनको भनाइ छ । उनका अनुसार अध्ययनका क्रममा चिनियाँ प्राविधिकसहित १५० जनाको टोली खटिएको छ । अन्वेषण टोलीको नेतृत्व चाइना जिओलोजिकल सर्भेका वरिष्ठ भूगर्भविद् ट्यान फुएनले गरिरहेका छन् । कान्तिपुर

प्रतिक्रिया